प्रदेश खबरराष्ट्रियसमाचार

भौतिक पूर्वाधार विकास मन्त्री समीरद्वारा पदभार ग्रहण, पहिलो निर्णयमै पुल र सडक निर्माणलाई प्राथमिकता

जेष्ठ – १२ 

जनकपुरधाम – मधेस प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री माननीय महमद समीरले पदभार ग्रहण गर्दै विकास निर्माणका महत्वपूर्ण योजनालाई तीव्र रूपमा अघि बढाउने निर्णय गरेका छन्। मन्त्री समीरलाई विभिन्न राजनीतिककर्मी, शुभेच्छुक तथा स्थानीयवासीहरूले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

मन्त्री समीरले पदभार सम्हाल्ने क्रममा आफ्नो पहिलो निर्णयस्वरूप “एक निर्वाचन क्षेत्र एक पक्की पुल” निर्माण कार्यलाई अभिलम्ब अघि बढाउने घोषणा गरेका छन्। साथै “एक निर्वाचन क्षेत्र एक सडक” कार्यक्रम अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा पाँच किलोमिटर कालोपत्रे सडक निर्माण कार्य समयमै सम्पन्न गर्ने निर्णय समेत गरेका छन्।

मन्त्री समीरले मधेस प्रदेशको समग्र विकास, सडक सञ्जाल विस्तार तथा जनतालाई सहज यातायात सुविधा उपलब्ध गराउने उद्देश्यले आफू प्रतिबद्ध रहेको बताएका छन्। उनले विकास निर्माणका योजनालाई पारदर्शी, प्रभावकारी र जनमुखी ढंगले कार्यान्वयन गरिने उल्लेख गर्दै जनताको अपेक्षा अनुसार परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाएका छन्।

उनको उक्त निर्णयलाई मधेस प्रदेशको पूर्वाधार विकासका लागि सकारात्मक सुरुवातको रूपमा हेरिएको छ। विशेषगरी ग्रामीण क्षेत्रका नागरिकले पुल तथा सडक अभावका कारण भोग्दै आएको समस्या समाधानमा यस निर्णयले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

राजनीतिक विश्लेषक तथा स्थानीयवासीहरूले मन्त्री समीरको पहिलो निर्णयलाई जनतामुखी र विकासकेन्द्रित कदमको रूपमा प्रशंसा गरेका छन्। प्रदेशभर सडक तथा पुल निर्माणले आर्थिक गतिविधि, शिक्षा, स्वास्थ्य तथा यातायात क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button