मिशन पार्टी जागरण अभियानमा मन्त्री समिरलाई महागढिमाई र सुवर्ण गाउँपालिकाको तोकयो जिम्मेवारी

जेष्ठ – १६
कलैया – नेकपा (एमाले) ले सञ्चालन गरिरहेको “मिशन पार्टी जागरण अभियान” अन्तर्गत पार्टी संगठनलाई थप सुदृढ, सक्रिय र जनमुखी बनाउने उद्देश्यले बाराको विभिन्न पालिकाहरुमा केन्द्रीय प्रतिनिधिको जिम्मेवारी तोकेको छ।
यसैक्रममा मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री, नेकपा एमालेका केन्द्रीय सदस्य तथा मधेस प्रदेश संसदीय दलका उप नेता महमम्द समिर लाई बारा जिल्लाको महागढिमाई नगरपालिका र सुवर्ण गाउँपालिका कमिटीको केन्द्रीय प्रतिनिधि को महत्वपूर्ण जिम्मेवारी प्रदान गरिएको छ।
पार्टीले अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न अनुभवी तथा सक्षम नेताहरूलाई विभिन्न क्षेत्रमा खटाएको जनाएको छ। मन्त्री समिरलाई दिइएको जिम्मेवारी अन्तर्गत सम्बन्धित पालिकामा पार्टी संगठनको अवस्था सुदृढीकरण, कार्यकर्ता परिचालन, जनसम्पर्क विस्तार, नयाँ सदस्यता अभियान तथा पार्टीका नीति, सिद्धान्त र कार्यक्रमलाई जनस्तरसम्म पुर्याउने कार्यमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
जिम्मेवारी प्राप्त गरेपछि मन्त्री समिरले पार्टी नेतृत्वप्रति धन्यवाद व्यक्त गर्दै अभियानलाई सफल बनाउन पूर्ण रूपमा क्रियाशील रहने प्रतिबद्धता जनाउनुभएको छ। उहाँले पार्टीलाई जनताको अझ नजिक पुर्याउने, कार्यकर्ताको मनोबल उच्च बनाउने तथा संगठनलाई थप बलियो र एकताबद्ध बनाउने दिशामा आफू केन्द्रित रहने बताए।
एमालेले सञ्चालन गरेको मिशन पार्टी जागरण अभियानलाई आगामी राजनीतिक यात्राका लागि संगठन निर्माणको महत्वपूर्ण आधारका रूपमा लिइएको छ। अभियानमार्फत गाउँ–टोल तहसम्म पार्टी संरचनालाई सक्रिय बनाउने, जनताका समस्या र सुझाव संकलन गर्ने तथा पार्टीप्रतिको जनविश्वास थप मजबुत बनाउने लक्ष्य राखिएको छ।
स्थानीय नेता तथा कार्यकर्ताहरूले मन्त्री समिरलाई प्राप्तको जिम्मेवारीले महागढिमाई नगरपालिका र सुवर्ण गाउँपालिकामा पार्टी संगठन थप मजबुत हुने विश्वास व्यक्त गरेका छन्। अभियानको सफल कार्यान्वयनसँगै पार्टीको संगठनात्मक गतिविधि अझ प्रभावकारी र परिणाममुखी बन्ने अपेक्षा गरिएको छ।



