राष्ट्रियसमाचारस्थानीय

बारामा ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु, श्रीमती घाइते

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित ४ नम्बर पुल नजिक पूर्व–पश्चिम राजमार्गमा ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ भने स्कुटरमा सवार उनकी श्रीमती घाइते भएकी छन्।

बुधबार (२०८३ मंसिर ३ गते) दिउँसो करिब १२ः०५ बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा.०१–००६ ख ९८३६ नम्बरको ईभीले विपरीत दिशाबाट आउँदै गरेको बा.०२–०३७ प ८५९८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा स्कुटर चालक सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ निवासी करिब ६० वर्षीय निरबहादुर वाइबाको शरीरका विभिन्न भागमा चोट लागेको थियो। गम्भीर घाइते अवस्थामा उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएका वाइबालाई चिकित्सकले ईसीजी परीक्षणपछि दिउँसो १ः२१ बजे मृत घोषणा गरेका थिए। उनको शव सोही अस्पतालमा राखिएको छ।

त्यसैगरी, स्कुटरको पछाडि सवार मृतककी श्रीमती करिब ५६ वर्षीया माइलीमाया तामाङको टाउको, हात, खुट्टा तथा ढाडमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र हेटौँडा अस्पताल, मकवानपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अमलेखगञ्ज, बाराबाट प्रहरी वरिष्ठ हवल्दार प्रकाश खत्रीको कमान्डमा चार जनाको टोली घटनास्थलमा खटिएको थियो।
प्रहरीका अनुसार ईभी चालक झापाको बिर्तामोड नगरपालिका–५ पाथीभरा निवासी करिब ५० वर्षीय रमेश प्रसाई रहेका छन्। दुर्घटनामा संलग्न ईभी र स्कुटर दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button