राष्ट्रियसमाचारसूचना-प्रविधि

यौनजन्य हिंसा र लागुऔषध दुर्व्यसनविरुद्ध बारामा प्रहरीको प्रभातफेरी, तीनदिने सचेतना अभियान सुरु

कलैया । यौनजन्य हिंसा, लागुऔषध दुर्व्यसन तथा विभिन्न सामाजिक अपराध न्यूनीकरण साथै सुरक्षित  सभ्य समाज निर्माण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा मंगलबार कलैयामा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ।

अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवस–२०८३ को अवसरमा यौनजन्य हिंसा रोकथाम तथा लागुऔषध दुर्व्यसनविरुद्ध सामाजिक सचेतना अभिवृद्धि गर्ने लक्ष्यसहित तीनदिने सचेतनामूलक अभियान सञ्चालन गरिएको हो।
जिल्ला प्रशासन कार्यालय बाराको प्राङ्गणबाट सुरु भएको प्रभातफेरी भरत चोक हुँदै महावीर रोड, दही बजार र सोनारपट्टी रोड परिक्रमा गरी पुनः जिल्ला प्रशासन कार्यालयकै प्राङ्गणमा पुगेर सम्पन्न भएको थियो।

प्रभातफेरीमा नेपाल प्रहरीका अधिकारी तथा जवान, महिला सञ्जालका प्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारी, स्थानीय सरोकारवाला तथा सर्वसाधारणको सहभागिता रहेको थियो। सहभागीहरूले यौनजन्य हिंसाको अन्त्य, लागुऔषध दुर्व्यसनबाट टाढा रहनुपर्ने, महिला तथा बालबालिकाको सुरक्षा र सुरक्षित समाज निर्माणसम्बन्धी सन्देशमूलक ब्यानर तथा प्लेकार्ड प्रदर्शन गरेका थिए।
कार्यक्रम जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको अध्यक्षतामा सम्पन्न भएको थियो भने जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा अपराध अनुसन्धानका प्रमुख सरोज निरौला, कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साह, जिल्ला सरकारी वकिल कार्यालय बाराका प्रमुख विष्णुप्रसाद पौडेल, जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घले, प्रहरी निरीक्षकहरू प्रकाश खड्का, विमल खतिवडा, इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक राजाबाबु ठाकुर, महिला सञ्जालकी प्रतिनिधि बबिता जयसवाललगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र प्रहरीका विभिन्न शाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो

कार्यक्रममा प्रहरी उपरीक्षक कुँवरले यौनजन्य हिंसा, लागुऔषध दुर्व्यसन तथा सामाजिक विकृतिविरुद्ध प्रहरी एक्लैको प्रयास पर्याप्त नहुने उल्लेख गर्दै समुदाय, स्थानीय तह, विद्यालय, सामाजिक संघसंस्था र नागरिकबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए।

उनले लागुऔषधको सेवन तथा अवैध कारोबारले युवा पुस्ताको भविष्य, पारिवारिक वातावरण र सामाजिक सुरक्षामा गम्भीर असर पार्ने भएकाले यसको रोकथामका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिए। साथै यौनजन्य हिंसाविरुद्ध पीडितलाई न्यायको पहुँचमा पुर्‍याउन र समाजमा जनचेतना फैलाउन सामूहिक प्रयास आवश्यक रहेको बताए।

प्रहरी उपरीक्षक कुँवरका अनुसार मंसिर १, २ र ३ गतेसम्म जिल्लाका विभिन्न स्थानमा यौनजन्य हिंसा रोकथाम तथा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। उनले अभियानलाई सफल बनाउन उपस्थित अतिथि, सुरक्षाकर्मी, संघसंस्थाका प्रतिनिधि तथा सहभागीहरूलाई धन्यवादसमेत व्यक्त गरे।

यौनजन्य हिंसा र लागुऔषध दुर्व्यसन दुवै समाजका गम्भीर चुनौतीका रूपमा रहेका बेला प्रहरीद्वारा सञ्चालन गरिएको यस्तो अभियानले नागरिकमा सचेतना अभिवृद्धि गर्नुका साथै अपराध न्यूनीकरण, युवा पुस्ताको संरक्षण र सुरक्षित समाज निर्माणमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button