
बारा । बाराको निजगढ नगरपालिका–११ बम्जन टोलस्थित तपस्या स्थलको भित्री सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।प्रहरीका अनुसार २०८३ कात्तिक ३० गते साँझ करिब ५ः२० बजे रतनपुरबाट कोल्हवीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–०४१ प ००४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा कोल्हवी नगरपालिका–७ दोधर्पाका २३ वर्षीय मोटरसाइकल चालक जंगी सहनी र पछाडि सवार २४ वर्षीय राहुल सहनी घाइते भएका थिए। दुर्घटनामा चालक जंगीको हात र खुट्टामा सामान्य चोट लागेको थियो भने पछाडि सवार राहुलको छातीमा चोट लागेर अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
दुवै घाइतेलाई निजगढस्थित सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा रेफर गरिएको थियो। तर, थप उपचारका लागि जाने क्रममा राहुललाई पर्सास्थित गण्डक अस्पताल पुर्याइएको र साँझ करिब ६ः२० बजे उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय निजगढ तथा अस्थायी प्रहरी पोस्ट रतनपुरबाट प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीका अनुसार दुर्घटनामा परेका दुवै जनाले मादक पदार्थ सेवन गरेको प्रारम्भिक विवरण प्राप्त भएको छ।
घटनापछि प्रहरीले मोटरसाइकल चालक जंगी सहनीलाई राति करिब १०ः२० बजे नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय निजगढमा राखेको छ। दुर्घटनामा संलग्न मोटरसाइकल र कागजातसमेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। मृतक राहुल सहनीको शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



