राष्ट्रियसमाचारस्थानीय

फेटा गाउँपालिकाका रोजगार संयोजक गिरीविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

बारा । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको आरोपमा बाराको फेटा गाउँपालिकाका रोजगार संयोजक ओमप्रकाश गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले मंगलवार गिरीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार गिरीको प्रमाणपत्र तह र स्नातक तहका शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी परेपछि अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा गिरीले फेटा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार संयोजक पदमा नियुक्ति पाउन पेस गरेको तीनवर्षे बीएड तहको लब्धाङ्कपत्र त्रिभुवन विश्वविद्यालयबाट प्रमाणीकरण गराउँदा उक्त प्रमाणपत्र गिरीको नभई अन्य व्यक्तिको रहेको खुलेको छ।

गिरीले २०७८ जेठ १ गतेदेखि नेपाल सरकारको राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृतसरहको रोजगार संयोजक पदमा नियुक्ति पाउन उक्त शैक्षिक प्रमाणपत्र पेस गरेको आयोगले जनाएको छ।

प्रवक्ता न्यौपानेका अनुसार गिरीले आफ्नो वास्तविक शैक्षिक योग्यता ढाँटी झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको पद तथा ओहदा प्राप्त गरेको देखिएको छ।

सोही कसुरमा गिरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजायको मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button