प्रदेश खबरसमाचार

नेपाल पत्रकार महासंघ मधेस प्रदेश कार्यालय भवनको शिलान्यास सम्पन्न ।

जेष्ठ – १५ 

जनकपुरधाम –  नेपाल पत्रकार महासंघ मधेस प्रदेश कार्यालय भवन निर्माण कार्यको शुक्रबार एक विशेष समारोहबीच शिलान्यास गरिएको छ। मधेस प्रदेश सरकारका गृह, सूचना तथा सञ्चार मन्त्री मा. फकिरा महतो तथा नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बन्जाराले संयुक्त रूपमा भवनको शिलान्यास गर्नु भएको हो।


जनकपुरधाममा आयोजित शिलान्यास कार्यक्रममा पत्रकार, सञ्चारकर्मी, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो। शिलान्यासअघि वैदिक विधिअनुसार पूजा–अर्चना गरी भवन निर्माण कार्यको औपचारिक शुभारम्भ गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री फकिरा महतोले लोकतन्त्रको सुदृढीकरण तथा नागरिक अधिकार संरक्षणमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै पत्रकार महासंघको आफ्नै सुविधा सम्पन्न भवन निर्माण हुनु गौरवको विषय भएको बताउनु भयो। उहाँले पत्रकारहरूको पेशागत हकहित, क्षमता अभिवृद्धि तथा सुरक्षित कार्य वातावरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नु भयो।

त्यसैगरी नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बन्जाराले पत्रकारहरूको साझा संस्थाको रूपमा महासंघलाई थप व्यवस्थित र प्रभावकारी बनाउन भवन निर्माणले महत्वपूर्ण सहयोग पुग्ने बताउनु भयो। उहाँले प्रदेश सरकारको आर्थिक  सहयोग  तथा सम्पूर्ण सञ्चारकर्मीप्रति आभार व्यक्त गर्दै भवन निर्माण कार्य समयमै सम्पन्न गरिने विश्वास व्यक्त गर्नु भयो। शिलान्यास कार्यक्रममा महासंघका मधेस प्रदेश कोषाध्यक्ष अनिल कुमार गौरव, लगायत प्रदेशका पदाधिकारी कार्यसमिति सदस्य र विभिन्न जिल्ला शाखाका पदाधिकारी, कार्यसमिति सदस्य, सञ्चारकर्मी तथा स्थानीय व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

मधेस प्रदेश सरकार बाट आर्थिक बर्ष २०८२/२०८३ को विनयोजीत  रु. २० लाखको  लागतमा तत्काल दुई कोठे  भवन सम्पन्न गर्ने लक्ष्य राखिएको  कोषाध्यक्ष अनिल कुमार गौरवले जानकारी गराउनु भएको छ। त्यसतै  नेपाल पत्रकार महासंघ मधेस प्रदेश कार्यालय भवन निर्माणपछि प्रदेशस्तरका पत्रकारहरूको गतिविधि थप व्यवस्थित, प्रभावकारी तथा संस्थागत हुने विश्वास गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button