राष्ट्रियसमाचारस्थानीय

सिमरामा महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसा रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

बारा । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसा रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित श्री सिमरा कलेजमा तीनदिने सचेतनामूलक कार्यक्रमअन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

२०८३ मंसिर ३ गते आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवर तथा इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा सिमरा कलेजमा अध्ययनरत विद्यार्थी, स्थानीय महिला तथा समाजसेवी गरी करिब २५० जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा प्रहरी निरीक्षकद्वय निरुता शिवाकोटी र ललिता ढकालले सहजीकरण गर्दै महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका स्वरूप, त्यसबाट बच्ने उपाय, कानुनी व्यवस्था, पीडितले न्याय प्राप्त गर्ने प्रक्रिया तथा हिंटनाका घटनाविरुद्ध आवाज उठाउनुपर्ने विषयमा जानकारी गराएका थिए।

कार्यक्रममा सहभागीहरूबीच यौनजन्य हिंसाको रोकथाम, सामाजिक सचेतना अभिवृद्धि तथा हिंसामुक्त समाज निर्माणमा परिवार, समुदाय र शैक्षिक संस्थाको भूमिकाका विषयमा अन्तरक्रियासमेत गरिएको थियो।

यस्ता सचेतनामूलक कार्यक्रमले महिला तथा बालबालिकामाथि हुने हिंसाविरुद्ध सामाजिक जागरुकता बढाउनुका साथै पीडितलाई खुलेर आफ्ना समस्या राख्न र कानुनी उपचार खोज्न प्रेरित गर्ने विश्वास व्यक्त गरिएको थियो। अन्तरक्रियापछि कार्यक्रम समापन गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button