कोशी प्रदेशमा ट्राफिक सुधारका लागि ऐतिहासिक पहल विराटनगरमा प्रादेशिक गोष्ठी सम्पन्न, सुरक्षित र व्यवस्थित यातायातमा जोड

धिरेन्द्र तिवारी / जेष्ठ -१३
बिराटनगर – कोशी प्रदेशमा बढ्दो सवारी चाप, सडक दुर्घटना न्यूनीकरण तथा आधुनिक ट्राफिक व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले “ट्राफिक व्यवस्थापन सम्बन्धी प्रादेशिक गोष्ठी–२०८३” भव्य रूपमा सम्पन्न भएको छ ।
बुधबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरद्वारा आयोजित उक्त गोष्ठी इटहरी उपमहानगरपालिका–४ स्थित दुर्गा पार्टी प्यालेसमा सम्पन्न भएको हो । कार्यक्रममा सुरक्षा निकाय, ट्राफिक प्रहरी, स्थानीय तह, यातायात व्यवसायी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
गोष्ठीका प्रमुख अतिथि प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले ट्राफिक व्यवस्थापनलाई समयानुकूल, प्रविधिमैत्री र नागरिककेन्द्रित बनाउन प्रदेश प्रहरी प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सडक अनुशासन कायम गर्नु राज्य र नागरिक दुवैको साझा दायित्व भएको उल्लेख गर्दै ट्राफिक सचेतना अभिवृद्धिमा सबै पक्ष एकजुट हुनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रमका विशेष अतिथि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुवनेश्वर तिवारीले कोशी प्रदेशमा सुरक्षित यातायात प्रणाली निर्माणका लागि ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन, गराउने,र जनचेतना विस्तार तथा आधुनिक निगरानी प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो। उहाँले दुर्घटना न्यूनीकरणका लागि विद्यालय, स्थानीय सरकार, यातायात व्यवसायी र नागरिक समाजबीच समन्वयात्मक सहकार्य आवश्यक रहेको बताउनुभयो ।
गोष्ठीमा सडक दुर्घटनाका प्रमुख कारण, सवारी अनुशासन, सार्वजनिक यातायात व्यवस्थापन, ट्राफिक संकेत प्रणाली, पार्किङ व्यवस्थापन, डिजिटल ट्राफिक अनुगमन तथा ट्राफिक सेवामा प्रविधिको प्रयोगबारे गहन छलफल गरिएको थियो । सहभागीहरूले दुर्घटनाप्रवण क्षेत्रहरूको पहिचान गरी विशेष निगरानी बढाउनुपर्ने चालक तथा सर्वसाधारणमा ट्राफिक सचेतना अभियान सञ्चालन गर्नुपर्ने तथा स्मार्ट ट्राफिक प्रणाली लागू गर्नुपर्ने सुझाव दिएका थिए ।
उक्त कार्यक्रमले कोशी प्रदेशमा सुरक्षित, व्यवस्थित र आधुनिक ट्राफिक व्यवस्थापनको दिशामा नयाँ आशा र सकारात्मक सन्देश प्रवाह गरेको जनाइएको छ ।
कार्यक्रममा सहभागीहरूले ट्राफिक व्यवस्थापन सुधारका लागि प्रहरी प्रशासनले अघि सारेको पहलको प्रशंसा गर्दै यस्ता गोष्ठीले नीति निर्माण र व्यवहारिक सुधारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए।



