प्रदेश खबरराष्ट्रियसमाचार

सुरक्षित वैदेशिक रोजगारीबारे बारामा अन्तरक्रिया कार्यक्रम सम्पन्न । मृत्यु, दुर्घटना र ठगीमा परे सरकारले दिने सेवा–सुविधाबारे जानकारी।

कलैया – बारको कलैया उपमहानगरपालिकाको आयोजना तथा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी अभिमुखीकरण तथा सञ्चारमाध्यम अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । “स्वदेशमै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जानै परे सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं” भन्ने नारासहित आयोजित कार्यक्रममा पत्रकार, जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाको सहभागिता रहेको थियो ।


कार्यक्रमको उद्घाटन नगर प्रमुख बिनोद साह ले ब्यानर वाचन गरेर गरेका थिए । कार्यक्रममा उपप्रमुख रौशन प्रविण ले सुरक्षित वैदेशिक रोजगारीका लागि सही सूचना, सीप र कानुनी प्रक्रिया आवश्यक रहेको बताइन् । प्रमुख प्रशासकीय अधिकृत रामबिनय कुमार सिंह लगायतको उपस्थिति रहेको कार्यक्रममा वैदेशिक रोजगारीका क्रममा हुने जोखिम, ठगी तथा राहत व्यवस्थाबारे विस्तृत जानकारी दिइएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बारा शाखाका उपाध्यक्ष पन्नालाल दास ले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूले सही सूचना लिएर मात्रै विदेश जानुपर्नेमा जोड दिए ।

उनले सञ्चारमाध्यमले सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी जानकारीमूलक समाचारलाई प्राथमिकताका साथ प्रचार–प्रसार गर्नुपर्ने बताए । उनले सीपमूलक तालिम लिएर र श्रम स्वीकृति प्राप्त गरेर मात्रै वैदेशिक रोजगारीमा जानुपर्ने उल्लेख गर्दै त्यसो गर्दा सरकारले उपलब्ध गराउने सेवा–सुविधा सहज रूपमा प्राप्त गर्न सकिने बताए । वैदेशिक रोजगारीमा जाँदा सबै कागजात, पैसा तिरेको रसिद तथा भरपाई सुरक्षित राख्न र परिवारलाई समेत प्रतिलिपि उपलब्ध गराउन आग्रह गरिएको थियो ।कार्यक्रममा सामी कार्यक्रमका प्रतिनिधिहरूले वैदेशिक रोजगारीसम्बन्धी ठगीमा परेका व्यक्तिहरूलाई जिल्ला प्रशासन कार्यालयभित्र रहेको आप्रवासी स्रोत केन्द्रको कक्ष नं. ११३ मा उजुरी गर्न आग्रह गरेका थिए । सरकारले २०७६ सालमै एजेन्ट प्रणाली खारेज गरिसकेको उल्लेख गर्दै अझै पनि गाउँघरमा एजेन्टमार्फत ठगी भइरहेकोप्रति सचेत गराइएको थियो ।कार्यक्रममा वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति लिएपछि मात्रै विभिन्न सेवा–सुविधा प्राप्त गर्ने व्यवस्था रहेको जानकारी दिइयो । श्रम स्वीकृति लिएर विदेश गएका कामदारको मृत्यु भएमा वैदेशिक रोजगार बोर्डबाट १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध हुने बताइएको छ । साथै बीमा कम्पनीबाट थप १० लाख रुपैयाँसम्म बीमा रकम उपलब्ध हुने जानकारी दिए।

विदेशमा मृत्यु भएका कामदारको शव नेपाल ल्याउने व्यवस्था, विमानस्थलदेखि घरसम्म शव पुर्‍याउन सहजीकरण तथा परिवारलाई आवश्यक सहयोगसमेत सरकारले गर्ने व्यवस्था रहेको जानकारी कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
त्यसैगरी, मृतक कामदारका छोराछोरीलाई आधारभूत तहमा वार्षिक १२ हजार रुपैयाँ र माध्यमिक तहमा १६ हजार रुपैयाँ छात्रवृत्ति उपलब्ध गराइने बताइएको छ । कामदार अंगभंग भएमा वा गम्भीर घाइते भएमा ७ लाख रुपैयाँसम्म राहत उपलब्ध हुने तथा क्यान्सर, मुटुरोग, मृगौला, पार्किन्सन र अल्जाइमरजस्ता घातक रोग लागेमा ५० हजार रुपैयाँसम्म आर्थिक सहायता प्रदान गरिने जानकारी गराएका छन।

कार्यक्रममा वैदेशिक रोजगारीका क्रममा ठगी, तलब नपाउने, सम्पर्कविहीन हुने तथा अन्य समस्यामा परेका व्यक्तिलाई कानुनी सहायता, क्षतिपूर्ति तथा उद्धारका लागि आप्रवासी स्रोत केन्द्रमार्फत सहजीकरण गरिने जानकारी पनि दिइएको थियो। सामी कार्यक्रमका कार्यक्रम संयोजक सरोज सिंह ले कार्यक्रमको प्रस्तुति दिएका थिए भने परामर्शदाता रबाबाबु सिंह ले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button