कलैयामा अन्तर्राष्ट्रिय भोजपुरी संगोष्ठी तथा सम्मान समारोह सम्पन्न
जेष्ठ – १०
कलैया – नेपाल भोजपुरी फाउन्डेशनको आयोजनामा तथा भोजपुरी साहित्य विकास मञ्च (भारत) को सहकार्यमा कलैयामा एक दिवसीय अन्तर्राष्ट्रिय संगोष्ठी एवं सम्मान समारोह सम्पन्न भएको छ । कार्यक्रम कलैया उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा आयोजना गरिएको थियो ।


कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार बृजकिशोर पाण्डेले गर्नु भएको थियो भने प्रमुख अतिथिका रूपमा माधव गौतमको उपस्थिति रहेको थियो । त्यसैगरी विशिष्ट अतिथिका रूपमा डाक्टर अशोक पाण्डे लगायत विभिन्न साहित्यकार, बुद्धिजीवी, समाजसेवी तथा भोजपुरी भाषा प्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा भोजपुरी भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनका विषयमा विस्तृत छलफल गरिएको थियो । वक्ताहरूले भोजपुरी भाषा नेपालको महत्वपूर्ण सांस्कृतिक पहिचान भएको उल्लेख गर्दै यसको विकासका लागि राज्य तथा समाजको सामूहिक पहल आवश्यक रहेको धारणा राखेका थिए ।
संगोष्ठीमा नेपाल तथा भारतका भोजपुरी साहित्यकारहरूले आ–आफ्ना विचार राख्दै भोजपुरी भाषालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । त्यसतै उक्त कार्यक्रममा गोर्ख पात्रका बारा सहकर्मी शिवशंकर मिश्र भुजपुरी टाईमस दैनिक बारा सहकर्मी प्रभु प्रसाद यादवलाई मायाको चिन्हो दिई समान गरेका थिए
कार्यक्रममा विभिन्न व्यक्तित्वहरूलाई भोजपुरी भाषा तथा साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान समेत गरिएको थियो । कार्यक्रममा सहभागीहरूले भोजपुरी भाषाको संरक्षण, नयाँ पुस्तामा यसको प्रयोग वृद्धि तथा साहित्य सिर्जनामा जोड दिनुपर्ने आवश्यकता औंल्याएका थिए । आयोजक संस्थाले आगामी दिनमा पनि यस्ता साहित्यिक तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको थियो ।



