राष्ट्रियसमाचार

सखी : महिलाको साथी संस्थाको ८ औं स्थापना दिवसमा वृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

जेष्ठ -१०

बारा – बाराको फेटा गाउँपालिका–१ टाेल भबलुहीमा सखी : महिलाको साथी संस्थाको ८ औं स्थापना दिवसको अवसरमा वृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। समाजसेवा तथा मानवताको भावनालाई आत्मसात गर्दै आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका युवायुवती, समाजसेवी तथा स्थानीयवासीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा ४५ जनाले रक्तदान गरेका थिए।

कार्यक्रम सखी : महिलाको साथी संस्थाकी अध्यक्ष रुबि खतुनको सभापतित्वमा सम्पन्न भएको थियो भने कलैयाकी छोरी तथा सामाजिक अभियान्ता हिरामती कुश्वाहा प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो। संस्थाकी कार्यकारी निर्देशक प्रियाका कुश्वाहा अतिथिको रूपमा आसन ग्रहण गर्नुभएको थियो।


कार्यक्रममा नेपाल मेडिकल कलेज, वीरगञ्जका अमित पटेल, श्री नविनतम कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष उदय ठाकुर, खेलकुद प्रशिक्षक जुगुली दास, जेन.जि युवा सञ्जय बैठा, श्याम सुन्दर तथा सामाजिक परिवर्तन केन्द्रका प्रतिनिधि बिक्की कुश्वाहा लगायत युवा तथा स्थानीयहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

“रक्तदान जीवनदान” भन्ने सन्देशसहित आयोजित कार्यक्रमको मुख्य उद्देश्य रगत अभावलाई न्यूनीकरण गर्नु रहेको आयोजकले जनाएको छ। कार्यक्रममा संकलित रगतले विभिन्न बिरामीहरूको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा संस्थाकी कार्यकारी निर्देशक प्रियाका कुश्वाहाले संस्थाले हालसम्म सञ्चालन गरेका सामाजिक तथा महिला सशक्तीकरण सम्बन्धी गतिविधिबारे जानकारी गराउँदै किशोरीहरूलाई प्रदान गरिएको लेखा सम्बन्धी तालिमबारे समेत प्रकाश पार्नुभएको थियो।

त्यसैगरी प्रमुख अतिथि सामाजिक अभियान्ता हिरामती कुश्वाहा ले “रक्तदान जीवनदान हो, रगत दान गर्नु सबैको सामाजिक जिम्मेवारी हो” भन्दै सबैलाई मानवीय सेवामा अग्रसर हुन आग्रह गर्नुभयो।

उक्त कार्यक्रम नेपाल मेडिकल कलेजको सहकार्यमा सम्पन्न भएको हो। संस्थाले विगतदेखि नै महिला सशक्तीकरण, सामाजिक चेतना तथा मानव सेवामूलक कार्यहरू गर्दै आएको संस्थाकी अध्यक्ष रुबि ठाकुरले बताउनुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button