
कलैया । हिन्दू धर्मावलम्बीहरूको महान् आस्था, श्रद्धा र सूर्य उपासनाको पर्व छठ आजदेखि विधिवत् रूपमा सुरु भएको छ। चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन आज शुक्रबार कार्तिक २७ गते व्रतालुहरूले नुहाइधुवाइ गरी चोखो र शुद्ध भोजन ग्रहण गर्दै ‘नहाय–खाय’ विधि सम्पन्न गर्दैछन्।
छठ पर्वको दोस्रो दिन भोलि शनिबार कार्तिक २८ गते ‘खरना’ विधि गरिनेछ। यस दिन व्रतालुहरू दिनभरि निर्जला उपवास बसेर साँझ पूजा आराधना गरी भगवान् सूर्यलाई प्रसाद अर्पण गरेपछि प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ।त्यसैगरी, तेस्रो दिन आइतबार कार्तिक २९ गते व्रतालुहरू दिनभरि निर्जला व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई जलाशय, नदी, पोखरी तथा घाटमा पुगेर अर्घ्य अर्पण गर्नेछन्।
छठ पर्वको अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि चार दिनसम्म चल्ने छठ व्रत विधिवत् रूपमा सम्पन्न हुनेछ। सन्तानको सुख, परिवारको समृद्धि, आरोग्य तथा मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ मनाइने छठ पर्वमा व्रतालुहरूले कठोर उपवास, श्रद्धा र निष्ठाका साथ सूर्यदेव तथा छठी माताको पूजा आराधना गर्ने गर्दछन्।



