वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर २५ वर्षीय जयसवालको मृत्यु

बारा । बाराको महागढीमाई नगरपालिकामा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–११ घोगरहिया निवासी द्वारिका प्रसाद जयसवालका २५ वर्षीय छोरा राजु जयसवाल रहेका छन्।
प्रहरीका अनुसार २०८३ साल कात्तिक २४ गते दिउँसो करिब १२:०५ बजे महागढीमाई नगरपालिका–३ गञ्जभवानीपुर निवासी मोहन साह कलवारको निर्माणाधीन घरमा वेल्डिङको काम गरिरहेका बेला जयसवाललाई अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो।
अस्पतालमा चिकित्सकले ईसीजी परीक्षण गर्दा दिउँसो १:१५ बजे उनलाई मृत घोषणा गरेका थिए।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी गञ्जभवानीपुरबाट प्रहरी नायब निरीक्षक बहादुर प्रसाद यादवको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
त्यसैगरी, थप अनुसन्धान तथा घटनास्थल मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको कमान्डमा एसओसीओ (SOCO) सहितको टोली खटिएको थियो।
प्रहरीका अनुसार मृतकको शव पोस्टमार्टमपछि सोही दिन दिउँसो ४:२५ बजे उनका दाइ रिकेश जयसवालले बुझेर लगेका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।



