
बारा । समाजमा व्याप्त विकृति, विसंगति र बेथितिविरुद्ध निर्भीक रूपमा आवाज उठाउँदै युवाहरूलाई सकारात्मक परिवर्तनको बाटोमा अग्रसर गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका स्वर्गीय युवा नेता सुजित पाण्डेको योगदानको स्मरणमा बाराको कलैया उपमहानगरपालिका–१४ भौरामा सुजित मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ।
स्वर्गीय पाण्डेले आफ्नो जीवनकालमा समाजका समस्या र अन्यायविरुद्ध दृढतापूर्वक आवाज उठाउँदै युवाहरूलाई संगठित गर्ने, सामाजिक उत्तरदायित्वप्रति सचेत बनाउने तथा नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रेरित गर्ने कार्य गर्नुभएको थियो। समाजमा रहेका विकृति र बेथितिविरुद्ध उहाँले देखाउनुभएको साहस, सक्रियता र सामाजिक प्रतिबद्धतालाई जीवन्त राख्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
‘खेलकुदले जोड्छ, युवाले बदल्छ कलैया–१४’ भन्ने मूल नाराका साथ यूथ अफ कलैया–१४ खेलकुद व्यवस्थापन समितिको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले एक समारोहबीच उद्घाटन गर्नुभएको हो।
प्रतियोगिता केवल खेलकुदमा सीमित नरही स्वर्गीय सुजित पाण्डेले समाजमा पुर्याउनुभएको योगदान, युवाप्रतिको विश्वास र सामाजिक परिवर्तनका लागि उहाँले उठाउनुभएको आवाजलाई नयाँ पुस्तामाझ परिचित गराउने माध्यमसमेत बनेको छ।
आयोजक समितिका अध्यक्ष रमेश ठाकुरका अनुसार स्वर्गीय पाण्डे समाजका होनहार, ऊर्जावान् र सामाजिक चेतना भएका व्यक्तित्व हुनुहुन्थ्यो। उहाँले समाजका गलत प्रवृत्तिविरुद्ध आवाज उठाउँदै युवाहरूलाई नेतृत्व प्रदान गर्नुभएको योगदानको सम्मानस्वरूप प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगिताको उद्घाटन खेलमा कलैया उपमहानगरपालिका वडा नम्बर १४ र वडा नम्बर ७ का टोलीबीच प्रतिस्पर्धा भइरहेको छ। प्रतियोगितामा कुल आठ टोली सहभागी छन्। सहभागी टोलीलाई समूह ‘क’ र समूह ‘ख’ गरी चार–चार टोलीमा विभाजन गरिएको छ। समूह चरणमा दैनिक दुई खेल सञ्चालन गरिनेछ भने सेमिफाइनल र फाइनल खेल फरक–फरक दिनमा हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेता टोलीले नगद १५ हजार रुपैयाँसहित ट्रफी र खेलाडीहरूले मेडल प्राप्त गर्नेछन्। उपविजेता टोलीले नगद १० हजार रुपैयाँसहित ट्रफी र मेडल पाउनेछन्।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (म्यान अफ द टुर्नामेन्ट) लाई नगद २ हजार ५०० रुपैयाँ, आकर्षक ट्रफी, विशेष मेडल तथा उपहार प्रदान गरिनेछ। प्रत्येक खेलका म्यान अफ द म्याच, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई समेत विशेष ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।
उद्घाटन समारोहमा कलैया उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामेश्वर यादव, वडा नम्बर २७ का वडाध्यक्ष अशोक तिवारी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कलैया उपमहानगरपालिका सभापति बब्लु गिरी, रास्वपाका नेता डा. सुशील साहलगायत सञ्चारकर्मी तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
स्वर्गीय सुजित पाण्डेको सामाजिक योगदानलाई स्मरण गर्दै आयोजना गरिएको प्रतियोगिताले खेलकुदको माध्यमबाट युवाबीच एकता, सहकार्य, अनुशासन र सकारात्मक सोचको विकास गर्ने अपेक्षा गरिएको छ। साथै, स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै समाज परिवर्तनमा युवाको भूमिका थप प्रभावकारी बनाउन प्रेरणा दिने विश्वास आयोजकले व्यक्त गरेको छ।



