
बारा, २२ कात्तिक।
बारा- चाडपर्वको समयमा आगलागी तथा आगोले पोलेर हुने दुर्घटनाको जोखिम बढ्ने भन्दै जिल्ला प्रहरी कार्यालय बाराले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरमा खाना पकाउने क्रममा माटोको चुलोबाट आगो सल्किँदा चार वर्षीया बालिका घाइते भएपछि प्रहरीले यस्तो आग्रह गरेको हो।
२०८३ कात्तिक २१ गते साँझ करिब ७ः३० बजे स्थानीय विकास प्रसाद कुशवाहकी चार वर्षीया छोरी रिया कुशवाहा घरमा खाना पकाउने माटोको चुलोमा अचानक आगो सल्किँदा जलेर घाइते भएकी थिइन्। आगोले बालिकाको दुवै खुट्टा र अनुहारमा जलन भएको छ। उनलाई उपचारका लागि वीरगन्जस्थित नेशनल मेडिकल कलेज (एनएमसी) लगिएको र हाल अवस्था मध्यम रहेको जनाइएको छ।
घटनाबारे राति करिब ११ बजे प्रहरी चौकी बरियारपुरमा जानकारी प्राप्त भएपछि प्रहरी नायब निरीक्षक कपिल अधिकारीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाराले चाडपर्वका बेला घरमा खाना पकाउँदा, पूजापाठ गर्दा, दियो तथा धूप बाल्दा र अन्य घरेलु गतिविधि सञ्चालन गर्दा आगोबाट हुन सक्ने सम्भावित दुर्घटनाप्रति सचेत रहन आग्रह गरेको छ।
प्रहरीले विशेषगरी बालबालिकालाई चुलो, ग्यास सिलिन्डर, आगो तथा अन्य जोखिमयुक्त उपकरणबाट टाढा राख्न, खाना पकाउँदा बालबालिकालाई भान्सामा एक्लै नछाड्न, ग्यास तथा विद्युत्का उपकरण सुरक्षित रूपमा प्रयोग गर्न र घरबाट बाहिर निस्कँदा आगो पूर्ण रूपमा निभेको सुनिश्चित गर्न अनुरोध गरेको छ।
सानो लापरबाहीले ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले चाडपर्वलाई सुरक्षित र दुर्घटनामुक्त बनाउन आफू पनि सचेत बनौँ र परिवारका सदस्यलाई पनि सचेत गराऔँ, जिल्ला प्रहरी कार्यालय बाराले सर्वसाधारणमा अनुरोध गरेको छ।



