
बारा । बाराको कोल्हवी नगरपालिका–२ न्यौपाने टोलस्थित तामागढी–कोल्हवी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार २०८३ कात्तिक २१ गते साँझ करिब ७ः३० बजे तामागढीबाट कोल्हवीतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०३३ प ४८६४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।
दुर्घटनामा परी कोल्हवी नगरपालिका–२ निवासी मोहन मोक्तानका २८ वर्षीय छोरा अमित मोक्तान गम्भीर घाइते भएका थिए। टाउकोमा चोट लागेका उनलाई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाइएकोमा राति करिब ९ बजे अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए। उनको शव सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
त्यस्तै, मोटरसाइकलमा सवार सोही स्थानका सुरज तामाङका २४ वर्षीय छोरा मनिष तामाङ र नरबहादुर लामाका २५ वर्षीय छोरा मनोज लामा घाइते भएका छन्। दुवै जनाको टाउकोमा चोट लागेको र उनीहरूको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट झुरझुरबाट प्रहरी सहायक निरीक्षक राजेश दास बनियाको कमान्डमा तथा इलाका प्रहरी कार्यालय कोल्हवीबाट प्रहरी निरीक्षक बुद्धिमान चोङवाङको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
दुर्घटनामा संलग्न मोटरसाइकल कसले चलाएको थियो भन्ने कुरा हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।



