
बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१८ कटाटोलबाट जुवा (तास) खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार २०८३ कात्तिक २० गते राति करिब १०ः१५ बजेको समयमा कटाटोलस्थित स्थानीय गोरीमाया तामाङको बाख्राको गोठमा जुवा खेल भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।
इलाका प्रहरी कार्यालय सिमरा, बाराबाट प्रहरी नायब उपरीक्षक (प्रनाउ) दयाकृष्ण भट्टको कमान्डमा खटिएको गस्ती टोलीले जुवा खेलिरहेको अवस्थामा आठ जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीले घटनास्थलबाट नगद रु. ७६ हजार ३९० समेत बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेहरूमा जितपुरसिमरा उपमहानगरपालिका–१७ का ३१ वर्षीय उपेन्द्र प्रसाद साह, ६१ वर्षीय मिनबहादुर थिङ, ३६ वर्षीय कुमार थिङ, ३७ वर्षीय जिम्बु चौधरी, ४९ वर्षीय सितलाल तामाङ र ३० वर्षीय वाङ तामाङ रहेका छन्।
त्यस्तै, कलैया उपमहानगरपालिका–२१ का ५५ वर्षीय देवचन्द्र प्रसाद चौधरी र ३१ वर्षीय रमेश साह पनि पक्राउ परेका छन्।
पक्राउ परेका आठै जनालाई बरामद रकमसहित आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय सिमरा, बारामा राखिएको प्रहरीले जनाएको छ।



