
बारा । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरीक्षक प्रकाश खड्का २०८३ साल असोज महिनाको उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन्
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले ‘महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०८३’ बमोजिम प्रहरी निरीक्षक खड्कालाई असोज महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय बारा अपराध अनुसन्धान शाखामा दरबन्दी भई कार्यरत प्रहरी निरीक्षक खड्काले आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा देखाएको कर्तव्यनिष्ठा, व्यावसायिक दक्षता, अनुशासन तथा कार्यसम्पादनको कदर गर्दै उनलाई उत्कृष्ट प्रहरीका रूपमा सम्मान गरिएको हो।
२०८३ कात्तिक २० गते आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक कुँवरले प्रहरी निरीक्षक खड्कालाई प्रशंसापत्र प्रदान गर्दै पुरस्कार वितरण गरेका थिए।
अपराध अनुसन्धान तथा प्रहरी संगठनको जिम्मेवारीलाई व्यावसायिक ढंगले निर्वाह गर्ने प्रहरी कर्मचारीको योगदानको उचित मूल्यांकन गर्दै प्रदान गरिने यस्तो सम्मानले प्रहरी कर्मचारीमा थप उत्साह, आत्मविश्वास र जिम्मेवारीबोध बढाउने विश्वास गरिएको छ।
असोज महिनाको उत्कृष्ट प्रहरी घोषित भएका प्रहरी निरीक्षक खड्कालाई जिल्ला प्रहरी कार्यालय बाराले बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा समेत अझ उच्च मनोबलका साथ नागरिकको सुरक्षा, शान्ति सुव्यवस्था कायम र अपराध नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरेको छ।



