राष्ट्रियसमाचारस्थानीय

बारामा भरुवा बन्दुक पड्काउँदा छर्रा लागेर एक जना घाइते, दुई नाल बन्दुकसहित एक जना पक्राउ

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ धर्मनगरमा बाँदर धपाउन भरुवा बन्दुक पड्काउने क्रममा छर्रा लागेर एक जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई नाल भरुवा बन्दुकसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार २०८३ कात्तिक १६ गते साँझ करिब ६ः३५ बजे धर्मनगर निवासी अन्दाजी ३० वर्षीय गोविन्द ठाडा मगरले बाँदर धपाउने क्रममा भरुवा बन्दुक पड्काउँदा निस्किएको छर्रा लागेर सोही स्थानका अन्दाजी ३२/३३ वर्षीय उत्तम रमौली मगर घाइते भएका हुन्।

घाइते रमौली मगरको वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे साँझ ६ः५० बजे जिल्ला प्रहरी कार्यालय बारामा जानकारी प्राप्त हुनासाथ प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेको कमाण्डमा सात जना, अस्थायी प्रहरी पोस्ट डुमरवानाबाट प्रहरी सहायक निरीक्षक सञ्जयकुमार वर्माको कमाण्डमा दुई जना तथा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दायकृष्ण भट्टको कमाण्डमा २२ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

प्रहरी टोलीले घटनामा संलग्न रहेको आरोपमा गोविन्द ठाडा मगरलाई दुई नाल भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ।

पक्राउ परेका मगरमाथि इलाका प्रहरी कार्यालय सिमरा, बाराबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button