
बारा । बाराको फेटा गाउँपालिकामा आधारभूत अस्पताल उद्घाटनलाई लिएर भएको विवादले हिंसात्मक रूप लिएपछि प्रहरीको गोली लागेर घाइते भएका १५ वर्षीय किशोरलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ।
फेटा गाउँपालिका–३ निवासी धर्मेन्द्र पासवानका अन्दाजी १५ वर्षीय छोरा आदित्य पासवानलाई आइतबार वीरगञ्जस्थित नेशनल मेडिकल कलेजबाट थप उपचारका लागि काठमाडौं पठाइएको हो। घाइते किशोरका बुवा धर्मेन्द्र पासवान पनि उनीसँगै काठमाडौं गएका छन्।
शनिबार फेटा गाउँपालिका–३ मा नवनिर्मित १५ शय्याको आधारभूत अस्पताल उद्घाटन गर्ने विषयलाई लिएर स्थानीयवासी र सम्बन्धित पक्षबीच विवाद भएको थियो। अस्पतालमा आवश्यक पूर्वाधार, चिकित्सक, नर्स, शय्या तथा अन्य स्वास्थ्य सेवा सुनिश्चित नगरी उद्घाटन गर्न लागिएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका थिए।
प्रदर्शनका क्रममा विवाद चर्किँदै गएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। सोही क्रममा प्रहरीले चलाएको गोली लागेर आदित्य घाइते भएका थिए। घटनापछि उनलाई उपचारका लागि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो। उपचारका क्रममा शल्यक्रिया गरी उनको शरीरमा लागेको गोली निकालिएको थियो। स्वास्थ्य अवस्थालाई थप उपचार आवश्यक देखिएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जनाइएको छ।
उक्त घटनाका क्रममा अस्पतालमा तोडफोड हुनुका साथै करिब नौवटा मोटरसाइकलमा आगजनी गरिएको थियो। झडपमा पाँच जना प्रहरीसमेत घाइते भएका थिए। घटनापछि फेटा क्षेत्रको अवस्था तनावपूर्ण बनेको थियो।
यसैबीच, घटनाको वास्तविकता पत्ता लगाउन मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले तीन सदस्यीय छानबिन टोली गठन गरेको छ। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभु प्रसाद ढकालको नेतृत्वमा गठित टोलीमा प्रहरी उपरीक्षक भुनेश्वर प्रसाद साह र प्रहरी निरीक्षक जटा शंकर यादव सदस्य रहेका छन्। टोलीलाई घटनास्थलको स्थलगत निरीक्षण तथा छानबिन गरी आवश्यक प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।
घटनापछि प्रहरी प्रशासनले स्थानीय सुरक्षा व्यवस्थापनमा समेत फेरबदल गरेको छ। इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक सुमन लामालाई जिम्मेवारीबाट हटाएर जिल्ला प्रहरी कार्यालय बारामा राखिएको छ।
बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार लामाको स्थानमा प्रहरी निरीक्षक राजाबाबु ठाकुरलाई इलाका प्रहरी कार्यालय प्रसौनीको प्रमुखका रूपमा खटाइएको छ।
अस्पताल उद्घाटनको विषयबाट सुरु भएको विवाद गोली प्रहार, तोडफोड र आगजनीसम्म पुगेपछि घटनाले स्थानीयस्तरमा थप चासो र चिन्ता उत्पन्न गरेको छ। घटनाको निष्पक्ष छानबिन, घाइते किशोरको उपचार तथा विवादको समाधान अब प्रमुख चासोका विषय बनेका छन्।



