राष्ट्रियसमाचारस्थानीय

फेटा गोलीकाण्डपछि प्रहरी प्रशासनको एक्सन : एसएसपी ढकालको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन, प्रहरी निरीक्षक लामालाई जिल्लामा बोलाईयो।।

कलैया । बाराको फेटामा अस्पताल उद्घाटनको विषयलाई लिएर भएको झडपका क्रममा गोली चल्दा १५ वर्षीय  किशोर आदित्य पासवान गम्भीर घाइते भएपछि प्रहरी प्रशासनले घटनाप्रति सक्रियता देखाउँदै छानबिन प्रक्रिया अघि बढाएको छ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभु ढकालको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

गठित समितिमा प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर साह र प्रहरी निरीक्षक जटाशंकर यादव सदस्य रहेका छन्।

त्यसैगरी, घटनाको विवादमा मुछिएका इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक सुमन लामालाई जिल्ला प्रहरी कार्यालय बारामा तानिएको छ। घटनाको निष्पक्ष छानबिनलाई सहज बनाउन प्रहरी निरीक्षक लामालाई जिम्मेवारीबाट हटाएर जिल्ला प्रहरी कार्यालयमा बोलाइएको हो।

प्रहरी प्रशासनले घटनाको निष्पक्ष र गम्भीर छानबिन गरी दोषी देखिने जोसुकैलाई पनि प्रचलित कानुनबमोजिम कारबाही गर्ने जनाएको छ।

गत कार्तिक १४ गते फेटामा अस्पताल उद्घाटनको विषयलाई लिएर दुई पक्षबीच झडप भएको थियो। सोही क्रममा गोली चल्दा स्थानीय फेटा गाउँपालिका–३ का १५ वर्षीय आदित्य पासवानलाई गोली लागेको थियो। गोली लागेर गम्भीर घाइते भएका पासवानको हाल वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचार भइरहेको छ।

घटनापछि प्रहरी प्रशासनले छानबिन समिति गठन गर्नु र विवादमा मुछिएका प्रहरी निरीक्षकलाई जिल्ला प्रहरी कार्यालयमा तान्नुले घटनालाई गम्भीर रूपमा लिएको संकेत गरेको छ। अब छानबिन समितिको प्रतिवेदनले गोली कसले र कुन परिस्थितिमा चलाएको हो भन्ने विषयमा वास्तविकता उजागर गर्ने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button