राष्ट्रियसमाचारस्थानीय

पत्रकार साह हत्या प्रकरण :अभियुक्त धामी पुर्पक्षका लागि थुनामा चलान 

कलैया । पत्रकार वीरेन्द्र कुमार साहको अपहरण तथा हत्या प्रकरणमा संलग्न रहेको आरोप लागेका लालबहादुर धामी चौधरी भन्ने लालबहादुर धामी थारुलाई बारा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। लामो समयदेखि चर्चामा रहेको उक्त हत्याकाण्डमा अदालतको पछिल्लो आदेशसँगै न्यायिक प्रक्रिया थप अघि बढेको छ।

बिहीबार जिल्ला अदालत बाराको इजलास नम्बर ४ का न्यायाधीश दुर्गादेवी गुरुङको इजलासले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अभियुक्त धामीलाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको हो। अदालतका श्रेस्तेदार राजकुमार दाहालले उक्त आदेशको पुष्टि गरेका छन्।

तत्कालीन बाराको इनर्वासिरा–८ निवासी ३४ वर्षीय पत्रकार साहलाई २०६४ साल असोज १८ गते तत्कालीन माओवादी कार्यकर्ताले अपहरण गरी हत्या गरेका थिए। एभिन्यूज टेलिभिजनमा आबद्ध रही पत्रकारिता गर्दै आएका साहको अपहरणपछि लामो समयसम्म अवस्था अज्ञात रहेको थियो। अन्ततः सोही वर्षको कात्तिक २२ गते बाराको तत्कालीन डुमरवाना–७ स्थित जंगलमा खाल्डो खनेर गाडिएको अवस्थामा उनको शव फेला परेको थियो।

पत्रकार साहको निर्मम हत्याले त्यसबेला पत्रकारिता क्षेत्रलाई स्तब्ध बनाएको थियो। घटनापछि दोषीमाथि कारबाही र पीडित परिवारलाई न्याय दिलाउन विभिन्न पत्रकार संगठन तथा नागरिक समाजले निरन्तर आवाज उठाउँदै आएका छन्।

यसअघि पनि उक्त हत्याकाण्डमा संलग्न रहेको अभियोगमा मनेजर गिरी र रामएकवाल सहनी पक्राउ परेका थिए। अदालतले उनीहरूलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाइसकेको छ। त्यसैगरी, हत्याका मुख्य अभियुक्तका रूपमा चिनिएका कुन्दन भन्ने नरेन्द्रकुमार फौजदारलाई समेत प्रहरीले गाउँबाटै पक्राउ गरेको थियो।

लामो समयपछि अर्का अभियुक्त धामीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएपछि पत्रकार साह हत्या प्रकरण पुनः चर्चामा आएको छ। यद्यपि, घटनामा संलग्न अन्य आरोपितलाई समेत पक्राउ गरी कानुनी दायरामा ल्याउनुपर्ने माग उठिरहेको छ।

नेपाल पत्रकार महासंघले पनि पत्रकार साहको हत्यामा संलग्न अन्य आरोपितको खोजी गरी पक्राउ गर्न र उनीहरूमाथि कानुनबमोजिम कारबाही अघि बढाउन सरकार तथा सुरक्षा निकायसँग माग गर्दै आएको छ। पत्रकारको हत्या जस्तो गम्भीर अपराधमा संलग्न सबैलाई कानुनी दायरामा ल्याएर पीडित परिवारलाई न्याय दिलाउनुपर्ने आवाज पत्रकारिता क्षेत्रबाट निरन्तर उठ्दै आएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button