प्रदेश खबरराष्ट्रियसमाचार

जबसम्म सास छ, तबसम्म आश छ’: विश्वासको मत जुटाउने मुख्यमन्त्री यादवको प्रयास जारी

एमालेको समर्थन फिर्ता भएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउन कडा चुनौती

 जनकपुरधाम –  अल्पमतमा परेका मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत जुटाउन अन्तिम समयसम्म राजनीतिक प्रयास जारी राख्ने बताएका छन्। विश्वासको मतका पक्ष वा विपक्षमा जुनसुकै परिणाम आए पनि त्यसलाई स्वीकार गर्ने उनको भनाइ छ।

​सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री यादवले अन्य राजनीतिक दलहरूसँग औपचारिकता र अनौपचारिक छलफल भइरहेको जानकारी दिएका छन्। विश्वासको मत लिने समयसम्म परिस्थिति अनुकूल बन्ने आशा व्यक्त गर्दै उनले भने, ‘जबसम्म सास छ, तबसम्म आश गर्नुपर्‍यो नि।’

​नेकपा एमालेले गत असोज ३० गते १५ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै सरकारबाट समर्थन फिर्ता लिएपछि यादव नेतृत्वको सरकार अल्पमतमा परेको हो। यद्यपि, सहमतिका कतिपय बुँदा कार्यान्वयन भइसकेका र केही प्रक्रियागत चरणमा रहेको मुख्यमन्त्री यादवको दाबी छ।

​मधेशमा नयाँ सरकार बन्ने चर्चा

​प्रदेशमा नयाँ गठबन्धन बन्ने चर्चालाई उनले सामान्य राजनीतिक प्रक्रियाका रूपमा व्याख्या गर्दै दलहरूबीच मुद्दा, उद्देश्य र स्वार्थ मिलेपछि गठबन्धन बन्ने र फेरिने बताए। सरकारको भविष्यबारे पार्टीको केन्द्रीय नेतृत्वसँग पनि नियमित सम्पर्कमा रहेको उनले जानकारी दिएका छन्।

​मुख्यमन्त्री यादवले कात्तिक २९ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ। १०७ सदस्यीय मधेश प्रदेशसभामा बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्दछ।

​प्रदेशसभामा दलगत समीकरण:

  • ​जसपा नेपाल: २७ सांसद
  • ​नेकपा एमाले: २३ सांसद
  • ​नेपाली कांग्रेस: २२ सांसद
  • ​नेपाली कम्युनिस्ट पार्टी: १५ सांसद
  • ​जनमत पार्टी: १२ सांसद
  • ​संघीय समाजवादी पार्टी: १ सांसद
  • ​राप्रपा: १ सांसद
  • ​नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री यादवका लागि आवश्यक बहुमत जुटाउन कडा चुनौती थपिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button