
बारा । बारामा प्रहरीले लागूऔषध गाँजाजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत पूर्वी चम्पारण जिल्लाको मोतिहारी थाना आदापुर ग्राम काण्डा वडा नम्बर ४ निवासी ६५ वर्षीय शामु सहनी र बाराको प्रसौनी गाउँपालिका–७ बलुवा टोल निवासी ४५ वर्षीय अछेलाल सहनी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बारा र अस्थायी प्रहरी पोस्ट इनर्वासिराबाट खटिएको संयुक्त प्रहरीको टोलीले २०८३ कात्तिक ११ गते साँझ करिब ७ः३० बजे प्रसौनी गाउँपालिका–६ प्रसौनी क्षेत्रमा गस्ती गर्ने क्रममा शंका लागेपछि शामु सहनीलाई चेकजाँच गरेको थियो। सो क्रममा उनको साथबाट ५०० ग्राम लागूऔषध गाँजाजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
त्यसपछि शामु सहनीसँग सोधपुछ गर्दा उनले उक्त पदार्थ प्रसौनी गाउँपालिका–७ बलुवा टोलका अछेलाल सहनीको घरबाट किनेर ल्याएको जानकारी दिएको प्रहरीले जनाएको छ। सोही सूचनाका आधारमा प्रहरीले अछेलाल सहनीको घरमा खानतलासी गर्दा थप ८ किलो ७०० ग्राम लागूऔषध गाँजाजस्तो देखिने पदार्थ बरामद गरेको थियो।
प्रहरीले दुवै जनालाई पक्राउ गरी लागूऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ। उनीहरूलाई सम्मानित बारा जिल्ला अदालत, कलैयाबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिनु भएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।




