प्रदेश खबरराष्ट्रियसमाचार
जिल्ला प्रहरी बाराद्वारा असोज महिनाको मासिक प्रगति विवरण सार्वजनिक १२८ वटा अपराध दर्ता, विभिन्न घटनामा ४ जनाको मृत्यु र साढे १० लाखभन्दा बढी राजश्व संकलन

कलैया, बारा — जिल्ला प्रहरी कार्यालय बाराले चालु आर्थिक वर्ष २०८३/०८४ को असोज महिनामा सम्पादित विभिन्न प्रशासनिक तथा अपराध अनुसन्धानसम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ। कार्यालयद्वारा जारी प्रेस विज्ञप्ति अनुसार असोज महिनामा जिल्लाभर कुल १२८ वटा अपराधका घटना दर्ता भएका छन्।
अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ:
- दर्ता भएका मुद्दाहरू: असोज महिनामा दर्ता भएका कुल १२८ मुद्दामा आत्महत्या १६, चोरी सम्बन्धी ६, सामाजिक अपराध ३६, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी ११, सवारी ज्यान ४ र अन्य ५२ वटा रहेका छन्। जघन्य तथा गम्भीर अपराधतर्फ कर्तव्य ज्यान २, हातहतियार ३ र बैंकिङ कसूर ९ गरी जम्मा २२ वटा घटना दर्ता भएका छन्।
- लागुऔषध तथा अवैध सामान बरामद: यस अवधिमा लागुऔषधतर्फ १३ वटा मुद्दा दर्ता भई १५ जना पक्राउ परेका छन्। प्रहरीले २९१ किलो ९३० ग्राम गाँजा, ११४ ग्राम ४० मिलिग्राम ब्राउन सुगर र २ किलो ९७० ग्राम अफिम बरामद गरेको छ। त्यस्तै, ५७९ लिटर मदिरा र ७३० लिटर तयारी मदिरा बरामद गरिएको छ। अवैध वन पैदवार काठ चोरी पैतारी नियन्त्रणका क्रममा ५१.७१ क्युफिट काठ बरामद गरी १ लाख २० हजार रुपैयाँ राजश्व जरिवाना संकलन गरिएको छ।
- फैसला कार्यान्वयन: फैसला कार्यान्वयनतर्फ १५ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको छ। उनीहरूबाट १९ वर्ष ८ महिना १५ दिन कैद भुक्तान तथा १ लाख २० हजार १७०० रुपैयाँ जरिवाना असुल गरिएको छ।
सवारी दुर्घटना तथा सुरक्षा व्यवस्था:
- सवारी दुर्घटना: असोज महिनामा जिल्लामा कुल ८१ वटा सवारी दुर्घटना भएका छन्। यी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने १११ जना घाइते भएका छन्। प्रहरीले ८१ जनाको उद्धार गरेको छ। सवारी नियम उल्लङ्घन गर्ने १०४२ वटा सवारी साधनमाथि कारबाही गर्दा १० लाख ९० हजार रुपैयाँ राजश्व संकलन भएको छ। दुर्घटनाको मुख्य कारण चालकको लापबाही (७१ वटा) देखिएको छ।
- घरेलु हिंसा तथा उजुरी: घरेलु हिंसातर्फ १४४ वटा उजुरी परेकोमा १७ वटामा मिलापत्र गराइएको छ। कार्यालयमा प्रत्यक्ष तथा जिल्ला प्रशासन कार्यालयमार्फत गरी कुल १८५ वटा ठाडो उजुरी दर्ता भएकोमा १३८ वटा फछ्र्योट भएका छन्।
विपद् व्यवस्थापन तथा जनचेतनामूलक कार्यक्रम:
- विपद् घटना: असोज महिनामा आगलागी, करेन्ट लागी, बाढी/पहिरो र पानीमा डुबेर भएका १६ वटा विपद् घटनामा ६ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। विपद्बाट करिब ७३ लाख १५ हजार रुपैयाँ बराबरको क्षति भएको छ।
- समुदाय केन्द्रित कार्यक्रम: जिल्लाका विभिन्न स्थानमा लागुऔषध, आत्महत्या, महिला हिंसा, साइबर अपराध, र ट्राफिक सचेतना लगायतका १५१ वटा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको छ, जसमा ४,९७३ जना सर्वसाधारण लाभान्वित भएका छन्।



