
बारा । बाराको कोल्हवी नगरपालिका–२ निकास टोलस्थित खेतको डिलमा अचेत अवस्थामा फेला परेका एक अज्ञात पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, २०८३ कात्तिक ८ गते दिउँसो करिब ३ः२५ बजे खेतको डिलमा नाम, थर र ठेगाना नखुलेका अन्दाजी ६० देखि ६२ वर्ष उमेरका पुरुष अचेत अवस्थामा रहेको सूचना प्राप्त भएको थियो।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरी टोलीले ती पुरुषलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया, बारामा पठाएको थियो। उपचारकै क्रममा सोही दिन साँझ ५ः२० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु भएका पुरुषको शव हाल प्रादेशिक अस्पताल कलैयामै सुरक्षित राखिएको छ। उनको पहिचान खुल्न नसकेकाले प्रहरीले आफन्त, परिवारका सदस्य तथा उनलाई चिन्न सक्ने व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय बारामा सम्पर्क गर्न अनुरोध गरेको छ।
प्रहरीका अनुसार मृतकको वर्ण कालो, उचाइ करिब ५ फिट ६ इन्च र कपाल सेतो रहेको छ। उनले सेतोमा हरियो धर्सा भएको गम्छा घाँटीमा ओढेका, सेतो र खैरो धर्का भएको सर्ट तथा सुन्तला रङको धोती लगाएका थिए। त्यस्तै, उनको दाहिने हातको नाडीमा रातो धागो बाँधिएको र दाहिने हातको साइँली औँलामा औँठी रहेको प्रहरीले जनाएको छ।
मृतकको पहिचान खुलाउन सहयोग गर्न सक्ने व्यक्तिले जिल्ला प्रहरी कार्यालय बाराको १००, ९८५५०४५१०१ वा ९८५५०४८१०१ नम्बरमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।



