
बारा । सर्पको टोकाइबाट बारामा एक चार वर्षीय बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारतको बिहार, पूर्वी चम्पारण पकडिया स्थायी घर भई हाल बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीस्थित मामाघरमा बस्दै आएका गजेन्द्र प्रसाद पालका ४ वर्षीय छोरा आदित्य प्रसाद पाल रहेका छन् । उनी विगत एक महिनादेखि आमासँग मामाघरमा बस्दै आएका थिए ।
आइतबार (कात्तिक ८ गते) बेलुका करिब ५:३० बजे मामाघर अगाडि खेलिरहेको अवस्थामा बालकलाई विषालु कोब्रा सर्पले बायाँ खुट्टामा टोकेको थियो । सर्पको टोकाइबाट गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि नारायणी अस्पताल वीरगन्ज लगिएको थियो ।
अस्पतालमा चिकित्सकले चेकजाँच (ईसीजी) गर्ने क्रममा बेलुका ६:०० बजे बालकको मृत्यु भइसकेको घोषणा गरेका थिए ।
घटनाबारे नारायणी अस्पतालमा खटिएका प्रहरी जवानले बेलुका ६:२७ बजे प्रहरी चौकी मुसहरवा बारामा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी मुसहरवाबाट प्रहरी नायव निरीक्षक (प्रनानि) मनोज साह सोनारको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।
मृतक बालकका मामा जितेन्द्र कुमार पालले बेलुका ७:४० बजे नारायणी अस्पतालबाट शव घर ल्याएर राखेका छन् । घटनाबारे प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको छ ।



