चाडपर्वमा सतर्कतापूर्वक सवारी चलाउन बारा प्रहरीको आग्रह

बारा, १ कात्तिक ।
जिल्ला प्रहरी कार्यालय बाराले आसन्न चाडपर्वका बेला पूर्ण सतर्कता अपनाएर मात्र सवारी साधन चलाउन सर्वसाधारण तथा चालकहरूलाई आग्रह गरेको छ।
चाडपर्वको समयमा हुन सक्ने सम्भावित सडक दुर्घटना न्यूनीकरण तथा शान्ति सुरक्षा कायम राख्न प्रहरीले सो अनुरोध गरेको हो। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक (डिएसपी) मिनबहादुर घलेले चाडपर्वको खुसीयालीमा मादक पदार्थ सेवन (मापसे) गरेर र क्षमताभन्दा बढी यात्रु राखी (ओभरलोड/ओभर सिट) जोखिमपूर्ण तरिकाले सवारी नचलाउन आग्रह गर्नुभयो।
डिएसपी घलेका अनुसार चाडपर्वमा मादक पदार्थ सेवन गरी तीव्र गतिमा सवारी हाँक्ने र ओभर सिट यात्रु बोक्ने प्रवृत्तिका कारण दुर्घटनाको जोखिम अत्यधिक बढ्ने गर्छ। सवारी नियमको पूर्ण पालना गर्न आग्रह गर्दै नियम विपरीत सवारी चलाएको पाइएमा कानुन बमोजिम कडा कारबाही गरिने बारा प्रहरीले सबै ध्यानाकर्षण गराएको छ।
प्रहरीले चाडपर्वलाई सुरक्षित र मर्यादित रूपमा मनाउन यात्रु, चालक र सवारी धनी सबैलाई जिम्मेवार बन्न अपिलसमेत गरेको छ ।



