राष्ट्रियसमाचारस्थानीय

बारामा स्कारपियोको ठक्करबाट एक किशोरको मृत्यु, दुई जना घाइते।

​कलैया, कार्तिक १ ।

बाराको महागढीमाई नगरपालिकामा भारतीय नम्बरको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

​महागढीमाई नगरपालिका-१ हुलाकी राजमार्गस्थित प्लाई फ्याक्ट्री चोकमा शनिबार बिहान करिब ११:३० बजे बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको BR 19 G 9921 नम्बरको भारतीय स्कारपियोले विपरीत दिशाबाट जाँदै गरेको बाग्मती प्रदेश ०३-००५ प ८८५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

​दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक कलैया उपमहानगरपालिका-२१ का १७ वर्षीय धीरज यादवको उपचारका क्रममा मृत्यु भएको छ। एल.एस. न्युरो अस्पताल परवानीपुरमा उपचारका क्रममा बिहान ११:५५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

​दुर्घटनामा मोटरसाइकलमा सवार अन्य दुई जना घाइते भएका छन्। कलैया-२१ भोडहाका १६ वर्षीय नगेश साहको दाहिने हात, अनुहार र बायाँ खुट्टामा चोट लागेको छ भने उनको अवस्था मध्यम रहेको छ। सोही ठाउँका १८ वर्षीय अरुण यादवको दायाँ हात र खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको छ। घाइते दुवै जनाको एल.एस. न्युरो अस्पताल परवानीपुरमै उपचार भइरहेको छ।

​घटनालगत्तै प्रहरी नायब निरीक्षक (सई) कपिल अधिकारीको कमाण्डमा खटिएको टोलीले ठक्कर दिने स्कारपियो र त्यसका चालक जिल्ला रौतहट परोहा नगरपालिका-३ बस्ने ३८ वर्षीय अरुण कुमार दुबेलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बारा पठाइएको छ।

​दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरी चौकी बरियारपुरको नियन्त्रणमा रहेको छ भने घटनास्थल मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिमल खतिवडाको कमाण्डमा टोली खटिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button