बारा । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा जिल्ला बारा, कलैयास्थित अस्थायी प्रहरी पोस्ट बसपार्कमा कार्यरत प्रहरी नायब निरीक्षक बिमलेश कुमार यादव पुरस्कृत भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराले शुक्रबार कलैयामा आयोजना गरेको अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण तथा सम्मान कार्यक्रममा यादवलाई कदरपत्रसहित पुरस्कृत गरिएको हो ।
प्रहरी संगठनको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण तथा रोकथाम गर्न र नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने कार्यमा पुर्याएको योगदानको कदर गर्दै उनलाई पुरस्कृत गरिएको जनाइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी र जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले संयुक्त रूपमा प्रहरी नायब निरीक्षक यादवलाई कदरपत्र प्रदान गरेका थिए ।
कलैया बसपार्क क्षेत्रमा यात्रु, यातायात व्यवसायी, चालक तथा सहचालकसँग समन्वय गर्दै शान्ति सुरक्षा व्यवस्थापन तथा नागरिकलाई सहज र सुरक्षित सेवा प्रदान गर्न अस्थायी प्रहरी पोस्ट बसपार्कको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ ।
प्रहरी दिवसको अवसरमा पुरस्कृत भएका यादवको सम्मानले जिम्मेवारीप्रति समर्पित प्रहरी कर्मचारीलाई थप उत्साहित बनाउनुका साथै प्रहरी संगठनभित्र कर्तव्यनिष्ठा, अनुशासन र सेवाभाव अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल प्रहरीको ७१औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रहरी सेवामा योगदान पुर्याउने व्यक्तिहरूको सम्मान गर्दै नागरिकको सुरक्षा, अपराध नियन्त्रण र समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरी तथा समुदायबीच सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धतासमेत व्यक्त गरिएको थियो ।



