बारा । ७१औँ प्रहरी दिवस–२०८३ को अवसर पारेर जिल्ला प्रहरी कार्यालय बाराले रक्तदान कार्यक्रम सञ्चालन गरेको छ। मंगलबार जिल्ला प्रहरी कार्यालय बाराको प्राङ्गणमा प्रादेशिक अस्पताल कलैयाको रक्तसञ्चार शाखासँगको सहकार्यमा कार्यक्रम सुरु गरिएको हो।
रक्तदान कार्यक्रमको उद्घाटन जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले प्रादेशिक अस्पताल कलैयाको ब्लड बैंकका इन्चार्ज राजाबाबु गुप्तालाई ब्लड ब्याग हस्तान्तरण गरेर गरेका थिए।
प्रहरी दिवसलाई सामाजिक उत्तरदायित्व र मानवीय सेवासँग जोड्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो। रक्तदानजस्तो मानवीय कार्यले रगतको अभावमा उपचार गराइरहेका बिरामीलाई सहयोग पुग्ने विश्वास गरिएको छ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घले, प्रहरी निरीक्षक प्रकाश खड्का, प्रहरी निरीक्षक विमल खतिवडालगायत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।
प्रहरी दिवसको अवसरमा आयोजित यस कार्यक्रमले प्रहरी संगठनको शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारीसँगै नागरिकको जीवन रक्षा र सामाजिक सेवाप्रतिको प्रतिबद्धतालाई समेत उजागर गरेको छ।



