
बारा । कलैया उपमहानगरपालिका–१५ बकुलहरमा निर्माण हुन लागेको चिनी मिलबाट वातावरण प्रदूषण हुने तथा खेतीयोग्य जमिन नष्ट हुने आशंका व्यक्त गर्दै स्थानीय जनप्रतिनिधिहरूले विरोध जनाएका छन्।
चिनी मिल सञ्चालनमा आएपछि निस्कने प्रदूषित पानीले वातावरणमा प्रतिकूल असर पार्नुका साथै आसपासका खेतीयोग्य जमिनमा समेत क्षति पुग्न सक्ने भन्दै कलैया उपमहानगरपालिका वडा नम्बर २७ का वडाध्यक्ष अशोक कुमार तिवारीको नेतृत्वमा आज जिल्ला प्रशासन कार्यालय बारा र कलैया उपमहानगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाइएको हो।
वडाध्यक्ष तिवारीको नेतृत्वमा सम्बन्धित निकायमा बुझाइएको ज्ञापनपत्रमार्फत चिनी मिलबाट हुन सक्ने सम्भावित वातावरणीय प्रदूषण तथा कृषि क्षेत्रमा पर्ने असरबारे गम्भीर ध्यानाकर्षण गराइएको छ। चिनी मिलबाट निस्कने पानीको उचित व्यवस्थापन नभएमा कृषि उत्पादनमा असर पर्ने, खेतीयोग्य जमिनको उर्वराशक्ति घट्ने तथा स्थानीय वातावरण प्रदूषित हुने जोखिम रहेको भन्दै त्यसतर्फ समयमै ध्यान दिनुपर्ने माग गरिएको छ।
कृषिमा निर्भर स्थानीय बासिन्दाको जीविकोपार्जनमा खेतीयोग्य जमिनको महत्त्वपूर्ण भूमिका रहने भएकाले उद्योग निर्माण तथा सञ्चालन गर्दा वातावरणीय प्रभावको उचित मूल्याङ्कन गर्नुपर्ने स्थानीय जनप्रतिनिधिहरूको चासो रहेको छ।
उद्योग स्थापना तथा सञ्चालनका क्रममा वातावरण संरक्षणसम्बन्धी मापदण्डको पालना, औद्योगिक फोहोर तथा प्रदूषित पानीको उचित व्यवस्थापन र खेतीयोग्य जमिनको संरक्षण सुनिश्चित गर्नुपर्ने विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।
बकुलहरमा निर्माण हुन लागेको चिनी मिलबाट स्थानीय वातावरण, कृषि भूमि तथा जनजीवनमा पर्न सक्ने सम्भावित प्रभावबारे सम्बन्धित निकायले आवश्यक अध्ययन तथा अनुगमन गरी समयमै उचित निर्णय लिनुपर्ने मागसमेत उठेको छ।
यस विषयमा जिल्ला प्रशासन कार्यालय बारा र कलैया उपमहानगरपालिकाले के-कस्तो कदम चाल्ने भन्ने विषयमा थप जानकारी प्राप्त हुन बाँकी रहेको छ।



