बागमती वेलफेयर सोसाइटी नेपाललाई भारतमा अन्तर्राष्ट्रिय ग्लोबल सस्टेनेबिलिटी अवार्ड
कार्यकारी निर्देशक रामकृष्ण रायले नयाँदिल्लीमा प्राप्त गरे अवार्ड, संस्थाको दिगो विकाससम्बन्धी पहलको सम्मान

उज्यालो न्यूज डटकम – बागमती वेलफेयर सोसाइटी नेपाल (BWSN) अन्तर्राष्ट्रिय स्तरको ग्लोबल सस्टेनेबिलिटी अवार्डबाट सम्मानित भएको छ। भारतको नयाँदिल्लीमा आयोजित कार्यक्रममा संस्थाले दिगोपनासम्बन्धी क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो।
संस्थाका कार्यकारी निर्देशक रामकृष्ण रायले बागमती वेलफेयर सोसाइटी नेपालको प्रतिनिधित्व गर्दै अवार्ड ग्रहण गरेका हुन्। संस्थाले नेपालका विभिन्न समुदायमा दिगो विकासका पहल तथा सामाजिक प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
संस्थाले प्राप्त गरेको यो सम्मानलाई आफ्नो संस्था, कर्मचारी, स्वयंसेवक, साझेदार संस्था तथा समुदायसँगको सामूहिक प्रयासको उपलब्धिका रूपमा लिएको छ। संस्थाले सामाजिक विकास र दिगोपनाका क्षेत्रमा गर्दै आएका गतिविधिको अन्तर्राष्ट्रिय स्तरमा कदर हुनु गौरवको विषय भएको जनाएको छ।
ग्लोबल सस्टेनेबिलिटी अवार्ड्सको मुख्य उद्देश्य दिगो भविष्य निर्माणका लागि योगदान पुर्याउने संस्था तथा पहललाई प्रोत्साहन गर्नु हो। अवार्डको मञ्चले जलवायु परिवर्तनविरुद्धको कार्य, समावेशी विकास, स्वच्छ खानेपानी तथा सरसफाइ र दिगो समुदाय निर्माणजस्ता विषयलाई प्राथमिकतामा राखेको छ।
बागमती वेलफेयर सोसाइटी नेपालले प्राप्त गरेको यो सम्मानले संस्थालाई आगामी दिनमा पनि समुदायको हित, सामाजिक विकास र दिगोपनाका क्षेत्रमा थप प्रभावकारी ढङ्गले काम गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।
नेपालमा रहेर समुदायको आवश्यकता र दिगो विकासका लक्ष्यलाई केन्द्रमा राखी काम गर्दै आएको संस्थाले अन्तर्राष्ट्रिय स्तरमा सम्मान प्राप्त गर्नु नेपाली सामाजिक संस्थाका लागि पनि सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ।



