राष्ट्रियसमाचारस्थानीय

सिम्रौनगढमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, तीन जना घाइते

बारा । बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरियास्थित नहर सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

प्रहरीका अनुसार २०८३ साल असोज २४ गते शनिबार साँझ करिब ६ः४५ बजे सिम्रौनगढबाट कचोर्वातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको BR05AF 0140 नम्बरको मोटरसाइकलले सोही दिशाबाट गइरहेको साइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा साइकलमा सवार श्रीमान्–श्रीमतीसहित मोटरसाइकलमा सवार दुई जना घाइते भएका थिए।

दुर्घटनामा सिम्रौनगढ नगरपालिका–६ निवासी करिब ४० वर्षीय सबु मोहम्मद र उनकी श्रीमती करिब ३७ वर्षीया रिजवना खातुन घाइते भएका थिए। घाइते दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो।

प्रादेशिक अस्पताल कलैयामा उपचारका क्रममा साँझ ७ः१० बजे चिकित्सकले रिजवना खातुनलाई मृत घोषणा गरेका थिए। उनका श्रीमान् सबु मोहम्मदको टाउको र निधारमा चोट लागेको थियो। अस्पतालमा उपचार भइरहेका उनलाई थप उपचारका लागि राति ९ः१० बजे वीरगञ्जस्थित नारायणी न्युरो अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, मोटरसाइकल चालक सिम्रौनगढ नगरपालिका–६ निवासी बिगु महतोका करिब २५ वर्षीय छोरा अजय महतो र मोटरसाइकलमा सवार सोही स्थानका करिब २२ वर्षीय विवेक महतो पनि दुर्घटनामा घाइते भएका छन्।

दुवै जनाको टाउको, नाक र कानमा चोट लागेको तथा अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई प्रादेशिक अस्पताल कलैयामा सामान्य उपचारपछि थप उपचारका लागि साँझ ७ः५० बजे वीरगञ्जस्थित नारायणी न्युरो अस्पतालमा रिफर गरिएको थियो।

दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी कचोर्वाबाट प्रहरी हवल्दार शैलेन्द्र प्रसाद यादवको कमान्डमा तथा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

दुर्घटनामा संलग्न मोटरसाइकल र साइकल प्रहरी चौकी कचोर्वाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button