
बारा, असोज २० गते । बाराको निजगढ नगरपालिका–११ रतनपुरबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बुधबार बिहान करिब १०ः४५ बजे रतनपुर पश्चिम टोलस्थित फुटबल ग्राउन्ड नजिकै इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले स्थानीय ३१ वर्षीय मोतीलाल रुम्बाका छोरा शम्भेर रुम्बालाई नियन्त्रणमा लिएको हो।
प्रहरी टोलीले रुम्बालाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट वारदात लोड रहेको भरुवा बन्दुक थान–१ बरामद गरेको जनाएको छ।
त्यस्तै, प्रहरीले सेतो प्लास्टिकको डब्बामा राखिएको बारुदजस्तो देखिने पदार्थ करिब ६० ग्राम, बारुद बनाउन प्रयोग हुने पटका राखिएको सानो प्याकेट तथा बाँसको टुक्रामा प्लास्टिकको डोरी र रबरले बाँधी बनाइएको पासो (जाल) समेत बरामद गरेको छ।
पक्राउ परेका रुम्बाविरुद्ध हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी इलाका प्रहरी कार्यालय निजगढबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। उनलाई जिल्ला अदालत बाराबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।



