राष्ट्रियशिक्षासमाचार

पत्रकार ठाकुरको पहलमा कलैया–१४ मा शैक्षिक प्रतिस्पर्धा, हाजिरीजवाफमा भौँरा प्रथम

कलैया–१४ का तीन सामुदायिक विद्यालयका विद्यार्थीबीच हाजिरीजवाफ तथा नेपाली–अंग्रेजी वाचन प्रतियोगिता सम्पन्न

कलैया –  कलैया उपमहानगरपालिका–१४ मा सामुदायिक विद्यालयका विद्यार्थीको शैक्षिक क्षमता अभिवृद्धि तथा पढाइप्रतिको आकर्षण बढाउने उद्देश्यले वडास्तरीय हाजिरीजवाफ तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ।

भौँरास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको भवनमा आयोजित प्रतियोगितामा तीनवटा सामुदायिक विद्यालयका विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो। हाजिरीजवाफ प्रतियोगितामा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भौँरा प्रथम, श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय बघवन दोस्रो र श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय लक्ष्मीनिया तेस्रो भएका छन्।

पत्रकार रमेश ठाकुरको आयोजनामा सम्पन्न कार्यक्रममा तीनवटै विद्यालयका विद्यार्थी, प्रधानाध्यापक तथा शिक्षक–शिक्षिकाको सहभागिता रहेको थियो। सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको प्रतिभा पहिचान गर्नुका साथै उनीहरूमा अध्ययनप्रतिको रुचि, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक ठाकुरले बताए।

हाजिरीजवाफसँगै तीनवटै विद्यालयका कक्षा ५ का विद्यार्थीबीच नेपाली तथा अंग्रेजी वाचन प्रतियोगिता समेत आयोजना गरिएको थियो। नेपाली वाचनतर्फ श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भौँरा प्रथम हुँदा अंग्रेजी वाचनतर्फ श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय बघवन प्रथम भएको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा आयोजक पत्रकार रमेश ठाकुर तथा विशिष्ट अतिथिका रूपमा कलैया उपमहानगरपालिका–१४ का कार्यवाहक वडा अध्यक्ष परयाग ठाकुर सहभागी थिए। कार्यक्रममा तीनवटै विद्यालयका प्रधानाध्यापक तथा शिक्षक–शिक्षिकाको उल्लेख्य उपस्थिति रहेको थियो।

आयोजक ठाकुरका अनुसार सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउने, विद्यार्थीलाई विद्यालयमै टिकाइराख्ने तथा विद्यालयको शैक्षिक वातावरणलाई थप प्रभावकारी बनाउने उद्देश्यले सम्बन्धित विद्यालयका प्रधानाध्यापकसँगको परामर्श र सहकार्यमा प्रतियोगिता सुरु गरिएको हो। विद्यार्थीको शैक्षिक क्षमता विकासलाई निरन्तरता दिने उद्देश्यले अबदेखि यस्ता प्रतियोगिता हरेक महिना सञ्चालन गरिने उनले जानकारी दिए।

कार्यक्रमको आयोजनाप्रति खुसी व्यक्त गर्दै श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भौँराका प्रधानाध्यापक ब्रजकिशोर मिश्रले आयोजक रमेश ठाकुरप्रति धन्यवाद व्यक्त गरे। उनले विद्यार्थीको प्रतिभा प्रस्फुटन तथा क्षमता विकासमा यस्ता कार्यक्रम प्रभावकारी हुने भन्दै आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिए।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूले हाजिरीजवाफ तथा वाचनमार्फत आफ्नो ज्ञान, प्रस्तुति क्षमता र आत्मविश्वास प्रदर्शन गरेका थिए। कार्यक्रमले सामुदायिक विद्यालयका विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्नुका साथै अध्ययनप्रतिको रुचि बढाउन सकारात्मक योगदान पुग्ने सहभागी शिक्षकहरूले बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button