चुरियामाई नजिकै ढुङ्गा खस्दा हेटौंडा–वीरगञ्ज सडक एकतर्फी बन्द, तीन घण्टामै पूर्णरूपमा भए सञ्चालन

बारा । बारा र मकवानपुरको सीमाक्षेत्र नजिक पर्ने जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित हेटौंडा–वीरगञ्ज सडकखण्डमा ढुङ्गा खसेपछि केही समय सडक एकतर्फी रूपमा अवरुद्ध भएको छ।
बुधबार बिहान करिब ६ः३० बजे चुरियामाई मन्दिरभन्दा करिब ५० मिटर दक्षिणतर्फ सडकमा ढुङ्गा खसेर सडक अवरुद्ध भएको सूचना इलाका प्रहरी कार्यालय अमलेखगञ्ज, बाराले प्राप्त गरेको थियो।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाशकुमार खत्रीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो। त्यस्तै, इलाका प्रहरी कार्यालय जितपुरसिमराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको कमाण्डमा टोली तथा अस्थायी ट्राफिक प्रहरी पोस्ट अमलेखगञ्जबाट प्रहरी हवल्दार नवलकिशोर साहको कमाण्डमा दुई जना ट्राफिक प्रहरीसहितको टोलीसमेत घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।
ढुङ्गा खसेपछि सडक पूर्णरूपमा बन्द हुन नदिन तत्काल व्यवस्थापन गरी एकतर्फी रूपमा सवारी आवागमन सञ्चालनमा ल्याइएको थियो। सडकमा खसेका ढुङ्गा तथा अवरोध हटाउन प्रहरी टोलीले सडक विभागसँग समन्वय गरी आवश्यक काम अघि बढाएको छ।
प्रहरीका अनुसार उक्त स्थान इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट करिब १० किलोमिटर उत्तरतर्फ पर्दछ। सडकमा ढुङ्गा खसेपछि केही समय सवारी आवागमन प्रभावित भए पनि प्रहरीको तत्काल परिचालन र सडक विभागसँगको समन्वयमा अवरोध हटाउने काम गरिएको हो।
प्रहरीले दिएको थप विवरणअनुसार बिहान करिब ९ः०० बजेदेखि हेटौंडा–वीरगञ्ज सडकखण्ड दुईतर्फी रूपमा पूर्णरूपमा सञ्चालनमा आएको छ। हाल सवारी साधनहरू नियमित रूपमा आवतजावत गरिरहेका छन्।
चुरियामाई क्षेत्र पहाडी भूभागमा पर्ने भएकाले वर्षा तथा भौगोलिक अवस्थाका कारण सडकमा ढुङ्गा खस्ने जोखिम रहने भएकाले उक्त सडकखण्डमा यात्रा गर्ने सवारी चालकलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।



