
बारा – बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। बुधबार (२०८३ असोज ९ गते) करिब १२ बजे स्थानीय श्याम रामका १० वर्षीय छोरा आकाश राम आफ्नै घरमा टिभी चलाउने क्रममा तार सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका थिए।
करेन्ट लागेर गम्भीर घाइते भएका आकाशलाई उपचारका लागि करिब १ः०५ बजे प्रादेशिक अस्पताल कलैया ल्याइएको थियो। अस्पतालका चिकित्सकले ECG परीक्षण गर्दा बालकको बाटोमै मृत्यु भइसकेको जनाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। अस्पतालबाट करिब १ः४५ बजे इलाका प्रहरी कार्यालय कोल्हवीलाई घटनाबारे जानकारी प्राप्त भएको थियो।
घटनापछि इलाका प्रहरी कार्यालय कोल्हवीबाट प्रहरी सहायक निरीक्षक शम्भु यादवको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीका अनुसार बालकलाई करेन्ट लागेपछि छुट्याउने क्रममा अन्य व्यक्तिहरूलाई समेत करेन्ट लागेको हो। घटनामा मृतककी करिब ७० वर्षीया हजुरआमा ऐतबरियाको हातमा करेन्ट लागेर घाइते भएकी छन्। उनको कोल्हवीस्थित तामागढी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, मृतककी १२ वर्षीया दिदी निलम रामको हातमा पनि करेन्ट लागी घाइते भएकी छन्। उनको कोल्हवीस्थित सिटी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था पनि मध्यम रहेको जनाइएको छ। यसैगरी, कोल्हवी नगरपालिका–३ जुगुवा टोलकै पाचु रामकी करिब ४० वर्षीया श्रीमती फुलकुमारी रामको हातमा करेन्ट लागी घाइते भएकी छन्। उनको तामागढी अस्पतालमा उपचार भइरहेको छ।
सोही स्थान बस्ने बिगम शर्माकी करिब ४१ वर्षीया श्रीमती अनिता शर्मा पनि करेन्ट लागेर घाइते भएकी छन्। उनको पनि तामागढी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनास्थललाई सुरक्षित राखी थप अनुसन्धान तथा आवश्यक मुचुल्काका लागि इलाका प्रहरी कार्यालय बारागढीबाट प्रहरी निरीक्षक सविनकुमार कार्कीको कमाण्डमा थप प्रहरी टोली खटाइएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ



