जितपुरमा १ किलो ७३० ग्राम गाँजासहित एक जना पक्राउ

बारा – बारा प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–८ गोबरगावास्थित आफ्नै घरको आँगनमा गाँजा लुकाएर राखेको सूचनाका आधारमा प्रहरीले जयनारायण चौधरीलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार २०८३ असोज ८ गते दिउँसो करिब ४ः४० बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको कमाण्डमा खटिएको चार जनाको टोलीले चौधरीको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा चौधरीको घरको आँगनबाट १५ पुडिया गरी ३२० ग्राम तथा कालो प्लास्टिकमा प्याक गरी राखिएको १ किलो ४१० ग्राम गरी प्लास्टिकसहित जम्मा १ किलो ७३० ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद पदार्थसहित चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय जितपुरमा राखेको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय जितपुरबाट करिब ४ किलोमिटर दक्षिण–पूर्वमा पर्ने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय जितपुरले जनाएको छ।



