असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना: बारामा प्रशासनद्वारा पूर्वसतर्कता अपनाउन आग्रह

कलैया – मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म देशका केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको बुलेटिन जारी गरेसँगै जिल्ला प्रशासन कार्यालय, बाराले सर्वसाधारण तथा सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय, बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविसरमण भट्टराईद्वारा असोज ७ गते जारी सूचना अनुसार उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय प्रणालीका कारण मधेश, कोशी, बागमती र गण्डकी प्रदेशमा मध्यमदेखि अति भारी वर्षाको जोखिम रहेको छ। भारी वर्षाका कारण बाढी, पहिरो, डुबान, राजमार्ग अवरोध र चट्याङ जस्ता विपद्को जोखिम बढ्ने भएकाले प्रशासनले पूर्वतयारी र सतर्कताका लागि विशेष अपिल गरेको हो।
प्रशासनद्वारा जारी सतर्कता सम्बन्धी प्रमुख निर्देशनसहरू:
- अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन: भारी वर्षा र हावाहुरीको समयमा मानवीय क्षति र दुर्घटनाबाट बच्न अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।
- विशेष समूहको सुरक्षा: विपद्बाट हुनसक्ने क्षतिलाई ध्यानमा राखी महिला, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति र बालबालिकाहरूलाई सुरक्षित स्थानमा राख्न भनिएको छ।
- यात्रा र ट्रेकिङमा रोक: बाढी तथा पहिरोको जोखिम भएका क्षेत्र, नदी तथा खोला किनारमा यात्रा नगर्न र उक्त अवधिभर ट्रेकिङमा नजान सूचित गरिएको छ।
- स्वास्थ्य र आपत्कालीन सेवा सतर्क: जिल्लास्थित अस्पताल, नर्सिङ होम, स्वास्थ्य केन्द्र र एम्बुलेन्सहरूलाई तयारी अवस्थामा (स्ट्यान्डबाइ) राख्न निर्देशन दिइएको छ।
- स्थानीय तह र संयन्त्र २४ सै घण्टा अलर्ट: स्थानीय तहका विपद् व्यवस्थापन फोकल पर्सनहरूलाई २४ सै घण्टा सतर्क रहन र स्थानीय विपद् व्यवस्थापन समिति (LEOC) लाई स्वयम्सेवक, जनशक्ति तथा उपकरणहरूसहित तयारी अवस्थामा रहन भनिएको छ।
आपत्कालीन सम्पर्क नम्बरहरू:
विपद्सम्बन्धी सूचना प्राप्त गर्न वा उद्धारका लागि प्रशासनले निम्न हटलाइन नम्बरहरू उपलब्ध गराएको छ:
- मौसम तथा वर्षाको जानकारीका लागि: ११५५
- जिल्ला विपद् व्यवस्थापन समिति (हटलाइन): १२३४
- नेपाल प्रहरी (हटलाइन): १००
- सशस्त्र प्रहरी बल (हटलाइन): १११४
प्रशासनले सर्वसाधारणलाई मौसम विज्ञान विभाग र स्थानीय प्रशासनबाट जारी हुने आधिकारिक सूचनाहरू नियमित रूपमा हेर्न र निर्देशनको पालना गर्न अनुरोध गरेको छ।



