
कलैया, असोज ७ : अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई १८ वर्ष कैद सजाय पाएका एक फरार प्रतिवादीलाई प्रहरीले बाराको कलैयाबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नं. ७ बगही टोलका २३ वर्षीय अफरोज अंसारी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जको मिति २०८२ माघ २४ गतेको फैसलाले अंसारीलाई १८ वर्ष कैद सजाय तोकेको थियो। सोही फैसला अनुसार उनलाई ६ लाख रुपैयाँ जरिवाना र अपराध पीडित राहत कोषमा २४ हजार रुपैयाँ भराउनुपर्ने ठहर भएको थियो। अदालतको फैसलापछि सजाय भुक्तान नगरी फरार रहँदै आएका अंसारीको खोजीका लागि प्रहरी टोली सक्रिय रुपमा खटिएको थियो।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले उनलाई बाराको कलैया उपमहानगरपालिका वडा नं. ६ स्थित कलैया बजार क्षेत्रबाट नियन्त्रणमा लिन सफल भएको हो।
पक्राउ परेका अंसारीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी निर्णय कार्यान्वयनका लागि बारा जिल्ला अदालत कलैयामा पेश गरिएको थियो। सम्मानित अदालतको मिति २०८३ असोज ७ गतेको पत्रादेश (चलानी नं. ४८५०) अनुसार उनलाई तोकिएको कैद भुक्तानका लागि कारागार कार्यालय वीरगञ्ज, पर्सा पठाइएको छ।
यस घटना र कारबाहीबारे जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (DSP) मिन बहादुर घलेले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका हुन्।




