
वीरगन्ज — पर्साको पटेर्वासुगौली गाउँपालिकामा ठूलो परिमाणको अवैध लागूऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। गाँजा कारोबार भइरहेको विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले पटेर्वासुगौली गाउँपालिका–१ स्थित मलाही टोलबाट करिब ३३ किलोग्राम गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा स्थानीय नन्दलाल सहनी, महेश सहनी र भुटी सहनी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार राति करिब १० बजे मलाही टोलमा अवैध रूपमा गाँजाको खरिदबिक्री तथा ओसारपसार भइरहेको खबर प्राप्त भएको थियो। सूचना पाउनासाथ इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको कमाण्डमा विशेष प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो।
प्रहरी टोली घटनास्थल पुगेर गाँजा कारोबारीहरूलाई घेराबन्दी गरी नियन्त्रणमा लिने प्रयास गर्दा केही समय तनावग्रस्त अवस्था सिर्जना भएको थियो। कारोबारीहरूले प्रहरीबाट पक्राउ नपर्न र उम्किन प्रतिरोध गरेपछि स्थिति नियन्त्रणमा लिन र कुनै अप्रिय घटना हुन नदिन प्रहरीले दुई राउन्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर मल्लले जानकारी दिए।
हवाई फायरपछि प्रहरीले घेराबन्दी गरी तीनै जनालाई नियन्त्रणमा लिन सफल भएको थियो। उनीहरूको साथबाट बरामद गरिएको करिब ३३ किलो गाँजासहित नियन्त्रणमा लिइएका सबै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ।
पक्राउ परेका व्यक्तिहरूमाथि लागूऔषध (नियन्त्रण) ऐन बमोजिम मुद्दा दर्ता गरी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। साथै यो समूहले गाँजा कहाँबाट ल्याएको र कसलाई बिक्री गर्न लागेको थियो भन्ने विषयमा पनि सुक्ष्म अनुसन्धान भइरहेको डिएसपी मल्लले बताए।



