राष्ट्रियसमाचार

जितपुरमा होटलभित्रै चक्कु प्रहार गरी युवकको हत्या, ६ जना प्रहरी नियन्त्रणमा

कलैया (बारा), ५ असोज — बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित एक होटलमा चक्कु प्रहार गरी ३५ वर्षीय युवकको हत्या गरिएको छ। घटनामा संलग्न रहेको आरोपमा मुख्य अभियुक्तसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

​जिल्ला प्रहरी कार्यालय बाराका अनुसार असोज ३ गते (बुधबार) साँझ करिब १७:३० बजे जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित ‘सम्झना स्टाफ होटल’मा सोही वडाका ३५ वर्षीय शेरबहादुर खड्कामाथि चक्कु प्रहार भएको थियो। जितपुर सिमरा उपमहानगरपालिका–१६ बस्ने २२ वर्षीय आयुष राईले खड्काको घाँटीमा चक्कु प्रहार गरेका थिए।

​चक्कु प्रहारबाट गम्भीर घाइते भएका खड्कालाई तत्कालै उपचारका लागि वीरगञ्जस्थित वयोधा अस्पताल लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा सोही दिन साँझ १८:४० बजे उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ।

धानबारीबाट पक्राउ परे मुख्य अभियुक्त

घटनापछि फरार रहेका मुख्य आरोपी आयुष राईलाई खोजतलास गर्न जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी टोली खटिएको थियो। प्रहरी टोलीले राति २२:०० बजे जितपुर सिमरा उपमहानगरपालिका–१६ महेन्द्रनगरस्थित धानबारीमा लुकिछिपी बसेको अवस्थामा राईलाई प्रहरीले  पक्राउ गरेका थिए ।

अन्य ५ जना पनि प्रहरीको हिरासतमा 

घटनाको अनुसन्धानका क्रममा प्रहरीले सोही वारदातसँग सम्बन्धित रहेको आरोपमा अन्य ५ जनालाई समेत पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा: ​पर्सा ठोरी गाउँपालिका–१ घर भई हाल जितपुर सिमरा–२ बस्ने ३४ वर्षीया बिन्दु तामाङ ​जितपुर सिमरा–२ बस्ने ३० वर्षीय रामबहादुर तिमिल्सिना ​जितपुर सिमरा–२ बस्ने २३ वर्षीय रत्न पाख्रिन तामाङ​जितपुर सिमरा–१६ बस्ने ४३ वर्षीया शान्ति राई ​जितपुर सिमरा–१६ बस्ने ४० वर्षीया सिता थापा मगर रहेका छन।

अदालतबाट म्याद थप गरी अनुसन्धान जारी

पक्राउ परेका ६ जनामाथि नै ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ। सम्मानित बारा जिल्ला अदालत कलैयाबाट ५ (पाँच) दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय सिमराबाट घटनाको सुक्ष्म अनुसन्धान भइरहेको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (DSP) मिनबहादुर घलेले जानकारी दिनुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button