
बारा, असोज ४ गते । जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी वरिष्ठ नायव निरीक्षक (प्रवनानि) प्रकाश कुमार खत्रीलाई २०८३ भदौ महिनाको ‘उत्कृष्ट प्रहरी’ (Best Police of the Month) घोषणा गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले ‘महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि–२०८३’ बमोजिम खत्रीलाई भदौ महिनाको उत्कृष्ट प्रहरी घोषणा गर्दै प्रशंसा–पत्र तथा पुरस्कार प्रदान गर्नुभएको हो।
जिल्ला प्रहरी कार्यालय बारा, तालिम शाखामा दरबन्दी रही हाल इलाका प्रहरी कार्यालय अमलेखगञ्ज, बारामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक खत्रीले आफ्नो जिम्मेवारी निर्वाहमा देखाएको सक्रियता, अनुशासन, कार्यसम्पादन तथा प्रहरी सेवाप्रतिको योगदानको मूल्याङ्कन गर्दै उनलाई महिनाको उत्कृष्ट प्रहरी छनौट गरिएको जनाइएको छ।
उत्कृष्ट प्रहरी घोषित खत्रीलाई एसपी कुँवरले प्रशंसा–पत्र तथा पुरस्कार प्रदान गर्दै आगामी दिनमा समेत जिम्मेवारीलाई थप प्रभावकारी रूपमा निर्वाह गर्न शुभकामना दिनुभएको थियो। जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी कर्मचारीको कार्यसम्पादन, जिम्मेवारीप्रतिको प्रतिबद्धता तथा उत्कृष्ट योगदानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक महिना उत्कृष्ट प्रहरी छनौट गर्दै आएको जनाएको छ।



