बारा प्रहरीले गरे भदौ महिनाको मासिक प्रतिवेदन रिपोर्ट सार्बजनिक : १४४ मुद्दा दर्ता, ठूलो परिमाणमा लागूऔषध र अवैध मदिरा नियन्त्रण, २४ जना पक्राउ

कलैया – जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत निकायहरूबाट भदौ महिना भर संचालित सुरक्षा कर्वाही र अपराध अनुसन्धानको प्रतिवेदन तथ्यांक अनुसार समिक्षा अवधिमा जिल्ला भर १४४ वटा अपराधको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले सर्बजनिक गरेको छ ।
सामाजिक अपराध र आत्महत्याको दर उच्च
दर्ता भएका १४४ मुद्दामध्ये सबैभन्दा बढी सामाजिक अपराधका ३२ वटा घटना रहेका छन्। यसैगरी, आत्महत्याका २८, सवारी ज्यानका १३, महिला तथा बालबालिका सम्बन्धी अपराधका ११, चोरीका ५, र ज्यानसम्बन्धी २ वटा मुद्दा दर्ता भएका छन्। अन्य शीर्षकमा ५३ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।
आर्थिक अपराधतर्फ कुल २१ वटा मुद्दा दर्ता भएका छन्, जसमा बैंकिङ कसूरका ११ वटा र ठगीका १० वटा घटना रहेका छन्। यस अवधिमा कर्तव्य ज्यान, हातहतियार, मानव बेचबिखन र मुद्रा सम्बन्धी अपराधमा भने कुनै मुद्दा दर्ता भएको छैन।
चालू मुद्दाका प्रतिवादी र पेन्डिङ फछ्र्यौट
चालू मुद्दाका विभिन्न प्रक्रियामा संलग्न २४ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरी कारबाही अघि बढाएको छ। सार्वजनिक चासोका रूपमा रहेका र पहिलेदेखि बाँकी (पेन्डिङ) रहेका १,२२६ मुद्दामध्ये यसै महिना ५६ वटा मुद्दाको सफल अनुसन्धान गरी फछ्र्यौट गरिएको छ।
अदालतको फैसला कार्यान्वयन: ११ वर्ष भन्दा बढी कैद र १८ लाख जरिवाना असुल
अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियान अन्तर्गत प्रहरीले भदौ महिनामा ४४ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूबाट कुल ११ वर्ष ४ महिना २५ दिन कैद सजाय भुक्तान गराउनुका साथै रु. १८,६१,५००।– (अठार लाख एकसट्ठी हजार पाँच सय) जरिवाना असुल गरिएको छ।
घरेलु हिंसा र हराएका व्यक्तिहरूको खोजतलास
घरेलु हिंसा सम्बन्धी उप-महानगरपालिका, नगरपालिका र गाउँपालिका स्तरबाट कुल १७४ वटा उजुरी परेका थिए। जसमध्ये प्रहरीको मध्यस्थतामा १५२ वटा मुद्दामा मिलापत्र गराइएको छ भने ३ वटा मुद्दा अदालत पठाइएको छ। बाँकी १९ वटा उजुरी प्रक्रियामा रहेका छन्।
यस्तै, हराएका २८ जना (महिला ११, बालक ५, बालिका ११, र ज्येष्ठ नागरिक १) मध्ये १६ जनालाई फेला पारेर आफन्तको जिम्मा लगाइएको छ। प्रहरी कार्यालयमा सोझै र जिल्ला प्रशासन मार्फत परेका ठाडो उजुरीहरू कुल १८५ मध्ये १७० वटा फछ्र्यौट भइसकेका छन्।
६ वटा लागूऔषध मुद्दामा ३ पक्राउ: ठूलो परिमाणमा गाँजा र औषधीजन्य पदार्थ जफत
लागूऔषध ओसारपसार र बिक्री-वितरण नियन्त्रणतर्फ प्रहरीले भदौ महिनामा ६ वटा मुद्दा दर्ता गरी ३ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट:
- लागूऔषध गाँजा: १६८.१६ किलोग्राम
- ब्राउन सुगर: १.९६ ग्राम
- अन्य औषधीजन्य लागूऔषध: १८,३०० ट्याब्लेट ट्रामाडोल (Tramadol) बरामद गरेको छ।
अवैध मदिरा, भन्सार छली र वन पैदावार नियन्त्रण
अवैध मदिरा नियन्त्रणतर्फ विभिन्न स्थानमा छापा मारी १९,८९० लिटर घरेलु मदिरा तथा कच्चा पदार्थ बरामद गरी १८ वटा मदिरा बनाउने भट्टीहरू नष्ट गरिएको छ।
प्राकृतिक सम्पदा दोहन नियन्त्रण अन्तर्गत अवैध बालुवा-गिट्टी उत्खननमा संलग्न ७ वटा ट्र्याक्टर नियन्त्रणमा लिई रु. ७०,००० जरिवाना गरिएको छ। साथै, अवैध सालको काठ ४८.५४ क्युबिक फिट बरामद गरी रु. १,३१,४०० राजस्व सङ्कलन गरिएको छ। भन्सार छली ल्याइएका रु. ९,६८,०७० बराबरका अवैध सामानहरू समेत बरामद गरिएको प्रतिवेदनमा उल्लेख छ।
सवारी दुर्घटनामा १२ को मृत्यु, रु. ९.८५ लाख राजस्व असुल
भदौ महिनामा बारा जिल्लाभर ८४ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने १२२ जना घाइते भएका छन्। दुर्घटनामा १२९ वटा सवारी साधन संलग्न थिए।
दुर्घटनाको मुख्य कारण विश्लेषण गर्दा ८१ वटा दुर्घटना चालकको लापरवाहीले, १ वटा सवारी साधनको खराबीले, १ वटा यात्रुको गल्तीले र १ वटा प्रतिकूल मौसमका कारण भएको पाइएको छ। ट्राफिक नियम उल्लङ्घन गर्ने ९९९ वटा सवारी साधनलाई कारबाही गरी रु. ९,८५,५०० जरिवाना असुल गरिएको छ।
अवैध हातहतियार र विपद व्यवस्थापन
प्रहरीले भरुवा बन्दुक २ थान र २.१७० किलोग्राम साइकलको ब्यारिङ बल (गोलीगठ्ठा) बरामद गरेको छ।
यसैगरी, आगलागी, बाढी/पहिरो, चट्याङ, करेन्ट र डुबेर भएका कुल ३९ वटा विपदका घटनामा ८ जनाको ज्यान गएको छ भने १२० जना घाइते भएका छन्। विपदका कारण रु. १३ लाख बराबरको भौतिक क्षति भएको र ३९ जना प्रहरी जनशक्ति परिचालन गरी उद्धार कार्य गरिएको थियो।
नागरिक सेवा, गस्ती र जनचेतनामूलक कार्यक्रम
शान्ति सुरक्षाका लागि भदौ महिनामा मोबाइल गस्ती ६२०, पैदल गस्ती ७४४, ग्रामीण गस्ती ६२०, चेकिङ २९६, र पिकेट ६७८ पटक गरी कुल ३,५२३ ड्युटीमा १०,७२१ प्रहरी जनशक्ति परिचालन गरिएको थियो।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागूपदार्थ, आत्महत्या, महिला हिंसा, बालविवाह, जातीय भेदभाव र ट्राफिक सचेतना जस्ता १३१ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी ४,९०८ जना नागरिकलाई लाभान्वित गराइएको छ। साथै नागरिक सहायता कक्षबाट ६,३४३ जना सेवाग्राहीलाई प्रत्यक्ष सेवा प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।



