
बारा । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) धर्मेन्द्रकुमार मिश्रको नियमित प्रशासनिक सरुवा भएको छ।
गृह मन्त्रालयले भदौ १८ गते गरेको निर्णयअनुसार सिडिओ मिश्रलाई गोरखाको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरेको हो। मिश्रले बारामा रहँदा प्रशासनिक सेवा, शान्ति–सुरक्षा तथा जिल्लाको समग्र प्रशासनिक व्यवस्थापनमा जिम्मेवारी निर्वाह गर्दै आएका थिए।
मिश्रको स्थानमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीलाई बाराको नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ। अधिकारीले जिम्मेवारी सम्हालेपछि जिल्लाको शान्ति–सुरक्षा, सेवा प्रवाह तथा प्रशासनिक कार्यलाई निरन्तरता दिनेछन्।
गृह मन्त्रालयले भदौ १८ गतेको निर्णयअनुसार विभिन्न जिल्ला प्रशासन कार्यालयमा कार्यरत प्रमुख जिल्ला अधिकारीसहित २३ जना सहसचिव तथा उपसचिव तहका कर्मचारीको नियमित सरुवा तथा पदस्थापन गरेको जनाएको छ।
मन्त्रालयले प्रशासनिक आवश्यकताका आधारमा कर्मचारीको जिम्मेवारी हेरफेर गर्दै विभिन्न जिल्ला प्रशासन कार्यालय तथा मन्त्रालयमा नयाँ जिम्मेवारी तोकेको हो।
यसैक्रममा बाराका सिडिओ मिश्रको गोरखा सरुवा र जाजरकोटका सिडिओ अधिकारीको बारामा पदस्थापन भएको हो। नियमित प्रशासनिक सरुवाअन्तर्गत भएको यस हेरफेरपछि जिल्ला प्रशासन कार्यालय बाराको नेतृत्व परिवर्तन हुने भएको छ।



