मनकामना कलेजका विद्यार्थीलाई ट्राफिक प्रहरीको सडक सुरक्षा सचेतना सम्पन्न

बारा । सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको प्रभावकारी पालना गराउने उद्देश्यले कलैयामा विद्यार्थीहरूलाई सडक सुरक्षा सम्बन्धी सचेतना प्रदान गरिएको छ।
मिति २०८३ भदौ १८ गते अस्थायी ट्राफिक प्रहरी पोस्ट कलैयामा कार्यरत प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) प्रिन्शानन्द यादवले कलैयास्थित मनकामना कलेजका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूलाई सडक सुरक्षा, ट्राफिक नियम तथा सवारी दुर्घटना न्यूनीकरणका उपायबारे जानकारी गराएका हुन्।
कार्यक्रममा सडकमा हिँड्दा तथा सवारी साधन प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, ट्राफिक संकेत तथा नियमको पालना, हेल्मेटको प्रयोग, तीव्र गतिमा सवारी नचलाउने, मादक पदार्थ सेवन गरी सवारी नचलाउने, सवारी चलाउँदा मोबाइल फोनको प्रयोग नगर्ने लगायतका विषयमा जानकारी दिइएको थियो।
प्र.स.नि. यादवले सवारी दुर्घटना न्यूनीकरणका लागि चालक मात्र नभई पैदलयात्री, विद्यार्थी, शिक्षक तथा समाजका सबै नागरिक जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए। उनले ट्राफिक नियमको पालना गर्दा दुर्घटनाको जोखिम कम हुनुका साथै अमूल्य मानवीय जीवनको समेत संरक्षण हुने बताए।
त्यस्तै, विद्यार्थीहरूलाई सडक पार गर्दा जेब्रा क्रसिङको प्रयोग गर्न, सडकमा हिँड्दा मोबाइल फोनको प्रयोग नगर्न तथा सवारी साधनमा यात्रा गर्दा आवश्यक सुरक्षा सावधानी अपनाउन आग्रह गरिएको थियो।
कलैयामा बढ्दो सवारी चाप र दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै विद्यालय तथा कलेजका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिने यस्ता सचेतनामूलक कार्यक्रमले युवा पुस्तामा ट्राफिक अनुशासन र सडक सुरक्षाप्रति जिम्मेवारीबोध बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।



