
बारा, भदौ १८ । जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी नायव निरीक्षक (सई) मनोज साह सोनारलाई २०८३ साउन महिनाको उत्कृष्ट प्रहरी (Best Police of the Month) घोषित गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले “महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०८३” बमोजिम प्रहरी नायव निरीक्षक साह सोनारलाई साउन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय बाराको आर्थिक प्रशासन शाखामा दरबन्दी रहेका साह सोनार हाल प्रहरी चौकी विश्रामपुर–मुसहर्वा, बारामा कार्यरत छन्। कार्यक्षेत्रमा इमानदारी, अनुशासन, जिम्मेवारीप्रतिको प्रतिबद्धता तथा प्रहरी सेवामा पुर्याएको योगदानका आधारमा उनलाई उत्कृष्ट प्रहरी छनोट गरिएको जनाइएको छ। उत्कृष्ट प्रहरी घोषित साह सोनारलाई प्रहरी उपरीक्षक कुँवरले प्रशंसा–पत्र तथा पुरस्कार प्रदान गर्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

प्रहरी संगठनमा कार्यरत प्रहरी कर्मचारीको मनोबल उच्च राख्दै उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘महिनाको उत्कृष्ट प्रहरी’ छनोट गरी सम्मान गर्ने गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
साह सोनार उत्कृष्ट प्रहरी घोषित भएपछि प्रहरी कर्मचारी तथा स्थानीय स्तरबाट समेत उनलाई बधाई तथा शुभकामना व्यक्त गरिएको छ।



