
बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले जिल्लाको समग्र शान्ति–सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धानलाई थप प्रभावकारी बनाउने उद्देश्यले मासिक मिटिङ तथा ब्रिफिङ कार्यक्रम सम्पन्न गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरको अध्यक्षतामा आज मिति २०८३/०५/१८ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मातहतका सम्पूर्ण प्रहरी इकाईका प्रमुख, कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृत तथा विभिन्न शाखामा कार्यरत जुनियर प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो। कार्यक्रममा जिल्लाको वर्तमान शान्ति–सुरक्षा अवस्था, अपराधको प्रवृत्ति, अपराध अनुसन्धान तथा नियन्त्रण, प्रहरी सेवा प्रवाह र नागरिकसँगको प्रहरी सम्बन्ध लगायतका विषयमा विस्तृत समीक्षा गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

बैठकमा मातहतका प्रहरी इकाईहरूले आफ्नो क्षेत्रमा भएका प्रहरी गतिविधि, अपराध नियन्त्रणका लागि गरिएका प्रयास, अनुसन्धानको अवस्था तथा आगामी दिनमा गर्नुपर्ने कार्ययोजनाबारे जानकारी तथा प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रस्तुत विवरणमाथि छलफल गर्दै एसपी कुँवरले जिल्लाको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन प्रहरी इकाईहरूबीच प्रभावकारी समन्वय र सूचना आदान–प्रदान आवश्यक रहेकोमा जोड दिएका थिए।
त्यसैगरी, अभिलेख व्यवस्थापन, प्रहरी कार्यालयको भौतिक अवस्था, प्रहरी कर्मचारीहरूको कार्यसम्पादन तथा कार्यालय व्यवस्थापनका विषयमा समेत समीक्षा गरिएको थियो। प्रहरी कार्यालय तथा मातहतका इकाईहरूबाट प्रदान भइरहेको सेवाको गुणस्तरलाई अझ प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो। कार्यक्रममा एसपी कुँवरले प्रहरी संगठनको मुख्य जिम्मेवारी नागरिकको जीउधनको सुरक्षा, कानुनको प्रभावकारी कार्यान्वयन र शान्ति–सुरक्षा कायम गर्नु रहेको उल्लेख गर्दै प्रहरी कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति थप संवेदनशील र जवाफदेही भएर काम गर्न निर्देशन दिएका थिए।
उनले प्रहरी सेवा नागरिकमैत्री, पारदर्शी, निष्पक्ष, उत्तरदायी र प्रभावकारी हुनुपर्नेमा जोड दिँदै सेवाग्राहीलाई अनावश्यक दुःख नदिई कानुनअनुसार छिटोछरितो सेवा उपलब्ध गराउन निर्देशन दिएका थिए। अपराध नियन्त्रण र अनुसन्धानका क्रममा व्यावसायिक दक्षता, प्रमाणमा आधारित अनुसन्धान तथा कानुनी प्रक्रियाको पूर्ण पालना गर्नुपर्नेमा समेत उनले जोड दिएका थिए। जिल्लामा हुनसक्ने आपराधिक गतिविधिलाई समयमै पहिचान गरी रोकथाम, नियन्त्रण तथा आवश्यक कानुनी कारबाही अघि बढाउन मातहतका प्रहरी इकाईलाई सक्रिय रहन निर्देशन दिइएको थियो।
एसपी कुँवरले प्रहरी कर्मचारीको अनुशासन, आचरण, व्यावसायिकता र जिम्मेवारीबोधले संगठनप्रतिको नागरिकको विश्वास निर्धारण गर्ने भएकाले व्यक्तिगत आचरणदेखि कार्यालयीय कार्यसम्पादनसम्म उच्च मापदण्ड कायम गर्नुपर्ने बताए। बैठकमा नागरिकको गुनासो तथा समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्ने, प्रहरीप्रतिको जनविश्वास अझ मजबुत बनाउने र प्रहरीलाई थप सेवामुखी तथा परिणाममुखी संगठनका रूपमा स्थापित गर्ने विषयमा पनि आवश्यक निर्देशन दिइएको थियो।

मासिक समीक्षा तथा ब्रिफिङ कार्यक्रमले मातहतका प्रहरी इकाईहरूको कार्यसम्पादनको मूल्याङ्कनसँगै आगामी दिनमा जिल्लाको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने कार्ययोजना निर्माणमा समेत सहयोग पुग्ने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। कार्यक्रममार्फत बारा प्रहरीले शान्ति–सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने र नागरिकलाई गुणस्तरीय प्रहरी सेवा उपलब्ध गराउने प्रतिबद्धतालाई थप स्पष्ट पारेको छ। मासिक बैठक समिक्षामा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मिनबहादुर घले ईलाका प्रहरी सिमाराका प्रमुख प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्ट जिल्ला प्रहरीका विभिन्न शाखाका प्रहरी निरीक्षकहरु राजाबाबु ठाकुर , होमानन्द खनाल , बिमल खतिवडा, प्रकाश खड्का , सिम्रौनगढ ईलाका प्रहरी कार्यालयका प्रमुख किशुनदेव साह लगायत जिल्लाका विभिन्न प्रहरी ईयुनिटका प्रमुखहरुको सहभागिता रहेको थियो ।



